बझाङ अपडेट : एमालेका ऐन महरको सुरुवाती अग्रता, कांग्रेसका सहमहामन्त्री रसाइलीसँग १५७ मतको अन्तर
बझाङ, २२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा बझाङमा नेकपा (एमाले) का उम्मेदवार ऐन महरले सुरुवाती अग्रता लिएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक मतपरिणाम अनुसार महरले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीलाई १५७ मतान्तरले पछि पार्नुभएको हो।
पछिल्लो मत परिणामको अवस्था:
ऐन महर (नेकपा एमाले): २,१०२ मत
प्रकाश रसाइली स्नेही (नेपाली कांग्रेस): १,९४५ मत
शैलेन्द्र कुमार सिंह (रास्वपा): १,२१५ मत
मीनबहादुर कुँवर (नेकापा): ८४१ मत
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म बुङ्गल नगरपालिकाका वडा नम्बर १, ४, ६ र ९ तथा जयपृथ्वी नगरपालिकाका वडा नम्बर १, ७ र ८ को मतगणना सम्पन्न भएको छ। यी वडाहरूको गणना सकिँदासम्म एमाले उम्मेदवार महरले आफ्नो पकड बलियो बनाएको देखिएको छ।
अघिल्लो निर्वाचनमा तत्कालीन सत्ता गठबन्धनका उम्मेदवारसँग निकै झिनो मतान्तरले पराजित भएका महरले यसपटक भने सुरुवातमै अग्रता कायम गरेर पार्टी कार्यकर्तामा उत्साह थप्नुभएको छ। यद्यपि, कांग्रेसका हेभीवेट उम्मेदवार रसाइलीले उनलाई कडा टक्कर दिइरहनुभएको छ।