खोटाङमा श्रम संस्कृति पार्टीका महासचिव आरेन राईको अग्रता कायमै
खोटाङ, २३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा खोटाङबाट श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले आफ्नो अग्रतालाई निरन्तरता दिनुभएको छ। आज अपराह्न ४ बजेसम्मको मतपरिणामअनुसार राईले आफ्ना निकटतम प्रतिस्पर्धीलाई १ हजार २७७ मतान्तरले पछाडि पार्नुभएको हो।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार कूल २८ हजार ८२२ मतगणना सम्पन्न हुँदा राईले ७ हजार १२२ मत प्राप्त गर्नुभएको छ। उहाँलाई नेकपा (एमाले) का उम्मेदवार देवबिक्रम राईले ५ हजार ८४५ मतका साथ पछ्याइरहनुभएको छ।
जिल्लामा मुख्य दलहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ। नेपाली कांग्रेसका वीरकाजी राई ५ हजार ५७५ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ भने नेकपाका डा. हरि रोका ४ हजार ५८४ मतका साथ चौथो स्थानमा रहनुभएको छ। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुद्र गिरीले २ हजार ५५५ मत प्राप्त गर्नुभएको छ।
अन्य उम्मेदवारहरूको मतपरिणाम यस प्रकार छ:
राष्ट्रिय परिवर्तन पार्टीका मिरेश राई: ३६२ मत
जनता समाजवादी पार्टी (जसपा) का राकेश राई: १५६ मत
नेकपा (माओवादी) का चन्द्र बुढाथोकी ‘शैलेस’: ९९ मत
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक तामाङ: ९१ मत
निर्वाचनमा सहभागी अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरूले दोहोरो अंक कटाउन संघर्ष गरिरहेका छन्।
मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीका अनुसार हालसम्म गणना गरिएको मतमध्ये १ हजार ९०५ मत बदर भएको छ। एउटै मतपत्रमा दुई वा सोभन्दा बढी छाप लगाइएका कारण धेरै मत बदर भएको कार्यालयले जनाएको छ।
कूल १ लाख ४७ हजार १२० मतदाता रहेको खोटाङमा फागुन २१ गते सम्पन्न निर्वाचनमा ४३ प्रतिशत अर्थात् ६३ हजार ३५ मत खसेको थियो। जिल्ला निर्वाचन कार्यालयका प्रमुख रविन मगरका अनुसार अहिले मतगणना कार्य सुचारु रहेको र अन्तिम परिणाम आउन अझै केही समय लाग्ने देखिएको छ।