महिला नेतृहरूको नेतृत्व र साहसको कथा सुन्न काठमाडौँ महानगरले ‘पावर इन एक्सन’ आयोजना गर्ने

काठमाडौँ, फागुन २३ । ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर काठमाडौँ महानगरपालिकाले विभिन्न क्षेत्रका सफल महिला नेतृहरूको नेतृत्व र साहसको यात्राबारे अन्तरसंवाद कार्यक्रम आयोजना गर्ने भएको छ। ‘पावर इन एक्सन: हर टाइम इज नाउ’ शीर्षकमा आयोजना हुने यस कार्यक्रममार्फत महिला नेतृत्वका चुनौती, सङ्घर्ष र सफलताका अनुभवहरू आदानप्रदान गरिनेछ।

काठमाडौँ प्लाजामा आयोजित पत्रकार भेटघाटमा महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलले यस कार्यक्रमले व्यक्तित्व र नेतृत्व विकासका क्षेत्रमा सक्रिय महिलाहरूका लागि उत्प्रेरणा जगाउने विश्वास व्यक्त गर्नुभयो। “फरक–फरक विधामा नेतृत्व गर्दाका अनुभवहरू अरूका लागि सिकाइ र मार्गदर्शक बन्न सक्छन्,” उहाँले भन्नुभयो, “समाज रूपान्तरणमा महिलाको भूमिका, चुनौतीको सामना गर्ने विधि र सफलताका कथा सुन्न हामीले सबै महिलाहरूलाई खुला निमन्त्रणा गरेका छौँ।”

महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार कार्यक्रममा प्रशासन, कानुन, उद्यमशीलता, सूचना प्रविधि, र सामाजिक क्षेत्रको उपल्लो तहमा रहेका महिलाहरूका भोगाइलाई समेटिनेछ। औपचारिक र अनौपचारिक संयन्त्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने व्यक्तित्वहरूले आ–आफ्नो विधाका उतारचढाव र सिकाइ प्रस्तुत गर्नुहुनेछ।

दिवसका अवसरमा महानगरले गर्दै आएका महिला लक्षित सेवाहरूको जानकारीका साथै ‘एक वडाः एक नमूना उद्यम कार्यक्रम’ अन्तर्गतका पौरखी महिलाहरूको कला प्रदर्शनी समेत गरिनेछ। साथै, नेपालको महिला आन्दोलनका उदाहरणीय नेतृहरूको विवरण प्रदर्शनी र सहभागीहरूबाट सुझाव सङ्कलनका लागि क्युआर कोडमा आधारित प्रश्नावलीको समेत व्यवस्था गरिनेछ।

लैङ्गिकमैत्री र हिंसामुक्त समाज निर्माणका लागि महानगरपालिकाले हालसम्म ‘लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि’, ‘वडा महिला सञ्जाल सञ्चालन कार्यविधि’ लगायत ६ वटा स्थानीय कानुनहरू कार्यान्वयनमा ल्याएको छ। वडा तहमा न्यायिक सहजकर्ता र मेलमिलाप केन्द्रमार्फत न्यायमा महिलाहरूको पहुँच पुर्‍याउन महानगर सक्रिय रहेको जानकारी समेत सो अवसरमा दिइयो।

पत्रकार भेटघाटमा सामाजिक समितिका संयोजक रामकुमार के.सी., प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलगायत विभिन्न विभागका प्रमुखहरूको उपस्थिति रहेको थियो। यस वर्ष फागुन २४ गते ‘सबै महिला र बालिकाका लागि अधिकार, न्याय र कार्यसहितको अवसर’ भन्ने राष्ट्रिय नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ।