निर्वाचनमा हार-जितभन्दा लोकतान्त्रिक संस्कार र संस्कृति महत्वपूर्ण : डा. शेखर कोइराला
काठमाडौँ, फागुन २३ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले लोकतान्त्रिक प्रणालीमा निर्वाचनको परिणाम (विजय वा पराजय) भन्दा पनि लोकतान्त्रिक संस्कार र संस्कृतिको जगेर्ना गर्नु महत्वपूर्ण हुने बताउनुभएको छ।
आज एक प्रेस विज्ञप्ति जारी गर्दै डा. कोइरालाले मोरङ क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुविना आचार्यलाई बधाई ज्ञापन गर्नुभएको छ। निर्वाचनको परिणामलाई सहज र स्वाभाविक रूपमा लिएको उल्लेख गर्दै उहाँले लोकतान्त्रिक पद्धतिको सुन्दरता नै जनताको अभिमतलाई स्विकार्नु रहेको स्पष्ट पार्नुभयो।
विज्ञप्तिमा डा. कोइरालाले भन्नुभएको छ, “लोकतान्त्रिक पद्धतिलाई आत्मसात गरेर सक्षम र योग्य उम्मेदवार विजयी हुनुभएको छ। आगामी संसद्मा युवा शक्तिको उपस्थिति र उहाँहरूको भूमिका महत्वपूर्ण रहनेमा म पूर्ण विश्वस्त छु।”
सोही अवसरमा उहाँले आफूलाई मतदान गर्ने सम्पूर्ण मतदाताहरूप्रति आभार व्यक्त गर्दै निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भव्य रूपमा सम्पन्न गर्न सहयोग पुर्याउने निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी तथा स्थानीय नागरिकहरूलाई धन्यवाद समेत दिनुभएको छ।
यसअघि मोरङ–६ मा भएको कडा प्रतिस्पर्धामा रास्वपाकी आचार्यले कांग्रेसका वरिष्ठ नेता कोइरालालाई पराजित गर्दै सङ्घीय संसद्को यात्रा तय गर्नुभएको हो। पराजयका बावजुद डा. कोइरालाले प्रदर्शन गर्नुभएको यो राजनीतिक संस्कारलाई धेरैले सकारात्मक रूपमा लिएका छन्।