यस वर्षको ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ दलित अगुवा ललिता दासलाई

काठमाडौँ, चैत १  । मानवअधिकार तथा शान्ति समाजले यस वर्षको ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ दलित अधिकारकर्मी एवं मधेश प्रदेशसभा सदस्य ललिता दास तत्मा ‘विद्रोही’लाई प्रदान गर्ने निर्णय गरेको छ। सो पुरस्कारको राशि १ लाख १० हजार रुपैयाँ रहेको छ। शान्ति समाजकी सभापति रेनुका पौडेलका अनुसार, मधेशको दलित समुदायबाट सामाजिक न्यायको आन्दोलनमा सशक्त भूमिका निर्वाह गर्नुका साथै दलित, महिला र सीमान्तकृत समुदायको अधिकारका लागि पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै ललिता दासलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो। समाजको पुरस्कार छनोट समितिको बैठकले यो निर्णय गरेको उहाँले जानकारी दिनुभयो।

सिरहा जिल्लाको सन्हैठामा वि.सं. २०४२ साउन १४ गते जन्मिनुभएकी ललिता दास हाल लहान निवासी हुनुहुन्छ। उहाँ मधेश प्रदेशसभाको सदस्य हुनुका साथै प्रदेशसभा अन्तर्गतको ‘महिला, बालबालिका तथा सामाजिक न्याय समिति’को सदस्य र जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय सदस्य समेत हुनुहुन्छ । जातीय तथा सामाजिक विभेद र उठिवासका घटनाविरुद्ध सडकदेखि सदनसम्म खरो रूपमा प्रस्तुत हुने ललिताले सामाजिक कुरीतिविरुद्ध विद्रोही पहिचान बनाउनुभएको छ। वि.सं. २०८० मा आफ्नी आमाको निधन हुँदा छोरीले शव बोक्न र किरिया बस्न नहुने सामाजिक मान्यतालाई चुनौती दिँदै उहाँले माइती गाउँदेखि कमला नदीसम्म शव बोक्नुका साथै कपाल खौरिएर १३ दिनसम्म काजकिरिया गर्नुभएको थियो ।

विगतमा रेडियो पत्रकारका रूपमा समेत सक्रिय रहनुभएकी उहाँका सामाजिक न्याय र अधिकारका विषयमा दर्जनौँ लेख-रचनाहरू प्रकाशित छन्। राजीतिक एवं सामाजिक आन्दोलनका क्रममा उहाँ पटक-पटक पक्राउ समेत पर्नुभएको थियो ।