ग्राहकको खाताबाट रकम हिनामिना गरेको आरोपमा एनआईएमबी बैंकका कर्मचारी पक्राउ

उदयपुर, १७ चैत । ग्राहकको खाताबाट रकम हिनामिना गरेको आरोपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) गाईघाट शाखामा कार्यरत एक कर्मचारी पक्राउ परेकी छिन् । बैंककै उजुरीका आधारमा प्रहरीले त्रियुगा नगरपालिका–५ निवासी सुनिता बानियाँलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक केदारमान दोङका अनुसार, आरोपित कर्मचारीले ग्राहकको खातामा रहेको रकम दुरुपयोग गरेको भन्दै बैंकले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको हो । बैंक व्यवस्थापनले आन्तरिक छानबिनका क्रममा रकम हिनामिना भएको पुष्टि गरेपछि प्रहरीलाई खबर गरेको थियो ।

प्रारम्भिक अनुसन्धानमा उनले ग्राहकको रकम दुरुपयोग गरेको देखिएको जनाइएको छ । हाल प्रहरी हिरासतमा रहेकी बानियाँमाथि बैंकिङ कसुर तथा ठगी मुद्दामा अनुसन्धान भइरहेको छ । यस घटनामा उनको मात्र संलग्नता रहेको छ वा अन्य व्यक्तिको पनि मिलेमतो छ भन्ने विषयमा सूक्ष्म अध्ययन भइरहेको प्रहरीले जनाएको छ ।