चट्याङबाट एक दशकमा हजारभन्दा बढीको मृत्यु, मकवानपुरमा सबैभन्दा धेरै मानवीय क्षति

काठमाडौँ, १८ चैत । नेपालमा विगत १२ वर्षको अवधिमा चट्याङका घटनाबाट ठूलो जनधनको क्षति भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार यस अवधिमा एक हजारभन्दा बढी व्यक्तिको ज्यान गएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका वरिष्ठ हाइड्रोलोजिस्ट राजेन्द्र शर्माका अनुसार विसं २०७० वैशाख १ देखि विसं २०८२ फागुन मसान्तसम्मको अवधिमा देशभर तीन हजार तीन सय ८६ वटा चट्याङका घटना दर्ता भएका छन् । यी घटनामा परी कुल एक हजार ७३ जनाको मृत्यु भएको छ, जसमा चार सय ६० पुरुष र तीन सय एक महिला छन् । बाँकी तीन सय १२ जनाको पहिचान खुल्न सकेको छैन ।

सोही अवधिमा चट्याङ लागेर तीन हजार चार सय आठ जना घाइते भएका छन् । घाइतेमध्ये एक हजार तीन सय १७ पुरुष र एक हजार छ सय ३३ महिला रहेको केन्द्रले जनाएको छ । चट्याङका कारण चार हजार दुई सय ९४ परिवार प्रभावित भएका छन् भने एक सय चार घर पूर्ण रूपमा र तीन सय ९० घर आंशिक रूपमा क्षति भएका छन् । पूर्वाधारतर्फ एक सय १४ गोठ र चार हजार आठ सय ४९ पशुचौपायामा क्षति पुगेको छ । वरिष्ठ हाइड्रोलोजिस्ट शर्माका अनुसार चट्याङका कारण कुल रु ११ करोड ८२ लाख १८ हजार दुई सय ६० बराबरको अनुमानित आर्थिक नोक्सानी भएको छ ।

तथ्याङ्कअनुसार विसं २०७० देखि २०८२ सम्मको अवधिमा मकवानपुरमा सबैभन्दा बढी एक सय ८२ वटा चट्याङका घटना दर्ता भएका छन् । जहाँ २१ पुरुष र २० महिला गरी ४१ जनाको मृत्यु भएको छ भने ७५ जना घाइते भएका छन् ।

यसैगरी, झापामा एक सय १३, उदयपुरमा एक सय चार, दैलेखमा एक सय पाँच र मोरङमा ९५ वटा घटना भएका छन् । मानवीय क्षतिको हिसाबले मकवानपुर (४१), मोरङ (४२) र उदयपुर (३९) अग्रस्थानमा रहेका छन् ।

पूर्वी पहाडी जिल्लाहरू खोटाङ (९२), सङ्खुवासभा (८६) र ओखलढुङ्गा (७६) मा पनि चट्याङको जोखिम उच्च देखिएको छ । मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा र पर्सामा समेत दर्जनौँको मृत्यु भएको केन्द्रको विवरणमा उल्लेख छ । पश्चिम नेपालतर्फ रोल्पा (९१), अछाम (७३), गुल्मी (७२) र प्युठान (७२) मा चट्याङका घटना बढी भएका छन् । आर्थिक क्षतिका हिसाबले झापामा सर्वाधिक करिब रु एक करोड सात लाख बराबरको नोक्सानी भएको छ ।

राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्क विश्लेषण गर्दा नेपालमा चट्याङबाट वार्षिक औसत ६७ जनाको मृत्यु हुने गरेको छ । विसं २०७७ मा दुई सय ४८ घटनामा ७० जनाको मृत्यु भएको थियो भने विसं २०७८ मा दुई सय तीन घटनामा ५६ जनाले ज्यान गुमाएका थिए ।

वरिष्ठ हाइड्रोलोजिस्ट शर्माका अनुसार विसं २०७९ मा दुई सय ९० घटनामा ८४ जना, विसं २०८० मा दुई सय ४७ घटनामा ४४ जना र विसं २०८१ मा चार सय ३६ घटनामा ७९ जनाको मृत्यु भएको थियो । चालू वर्ष २०८२ को वैशाखदेखि चैत १४ गतेसम्म चार सय १६ घटना हुँदा ४७ जनाको मृत्यु र तीन सय सात जना घाइते भएका छन् ।

के हो चट्याङ ?
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चट्याङ भनेको बादलदेखि जमिनसम्म बग्ने उच्च क्षमताको विद्युतीय करेन्ट हो । फरक उचाइ र विपरीत ‘चार्ज’ रहेका बादलहरू नजिक पुगेर एक्कासि विद्युत् प्रवाह हुँदा ठूलो मात्रामा शक्ति उत्पन्न हुन्छ, जसले चर्को आवाज र आगोसहितको विद्युतीय तरङ्ग पृथ्वीको सतहमा पठाउँछ । यसले विशेषगरी खुला क्षेत्रमा काम गर्ने किसान, मजदुर र पशुपालकलाई बढी जोखिममा पार्ने गरेको छ । अग्ला भवन, विद्यालय, अस्पताल र विद्युत् तथा टेलिफोन लाइनजस्ता संरचनामा ‘लाइटनिङ एरेस्टर’ (चट्याङ निवारक प्रविधि) जडान गरेर जनधनको क्षति कम गर्न सकिन्छ ।

जल तथा मौसम विज्ञान विभागका प्रवक्ता एवं मौसमविद् विभूति पोखरेलले हावाहुरी र चट्याङको समयमा घरबाहिर ननिस्कन आग्रह गर्नुभएको छ । मौसमविद् गोविन्द झाका अनुसार अस्थिर वायुमण्डल, दिउँसो अचानक कालो बादल लाग्नु, बादल तीव्र गतिमा सर्नु र चिसो हावा चल्नु चट्याङको प्रारम्भिक सङ्केत हुन् । “टाढाबाट गड्याङगुडुङको आवाज सुन्नु पनि चट्याङको सङ्केत हो, यस्तो बेला सतर्कता अपनाउनुपर्छ,” उहाँले भन्नुभयो ।

प्राधिकरणले चट्याङको समयमा रुख, बिजुलीका पोल वा टावर नजिक नबस्न, छाताको प्रयोग नगर्न र खेतबारीको काम रोकी सुरक्षित स्थानमा जान आग्रह गरेको छ । घरभित्र हुँदा झ्यालढोका बन्द गर्ने, तारयुक्त टेलिफोन तथा मोबाइल फोन प्रयोग नगर्ने र विद्युतीय उपकरणहरू बन्द गरी प्लग निकाल्न सुझाव दिइएको छ । “पानीका धारा नछुने, नुहाउने वा भाँडा माझ्ने काम नगर्नुका साथै झ्याल वा धातुका संरचनाबाट टाढा बस्नुपर्छ,” वरिष्ठ हाइड्रोलोजिस्ट शर्माले बताउनुभयो ।

पाटन मानसिक अस्पतालका वरिष्ठ मनोरोग विशेषज्ञ डा. वासुदेव कार्कीले चट्याङजस्ता प्राकृतिक विपद्पछि प्रभावित परिवारमा तनाव, डर र चिन्ताजस्ता मनोसामाजिक समस्या देखिन सक्ने बताउनुभयो । उहाँले यस्ता समस्यालाई बेवास्ता नगरी समयमै पहिचान र विशेषज्ञको सहयोग लिनुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्रा. डा. आरजुचन्द सिंहले गर्भावस्थामा चट्याङको गर्जनले शिशुलाई हानि गर्छ भन्ने भ्रम मात्र रहेको स्पष्ट पार्नुभयो । “चट्याङको अप्रत्यक्ष सम्पर्कले गर्भवती वा शिशुलाई असर गर्दैन, तर प्रत्यक्ष विद्युत् झट्का लागेमा, बेहोस हुने, चक्कर लाग्ने वा पेट दुख्ने समस्या देखिएमा तत्काल अस्पताल जानुपर्छ,” उहाँले भन्नुभयो । सामान्य अवस्थामा दुई घण्टाभित्र कम्तीमा १० पटक शिशुको हलचल महसुस हुनुपर्ने र त्यसमा कमी आए तत्काल चिकित्सकको सल्लाह लिनुपर्ने उहाँको सुझाव छ ।