सिन्धुलीको बिपी राजमार्गमा बस र माइक्रोबस ठोक्किँदा १० जना घाइते, ४ को अवस्था गम्भीर

सिन्धुली, २० चैत । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारस्थित बिपी राजमार्गमा बस र माइक्रोबस एकआपसमा ठोक्किँदा १० जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीका अनुसार, काठमाडौँबाट झापाको काँकडभित्तातर्फ जाँदै गरेको बा ४ ख ५०५२ नम्बरको माइक्रोबस र सिन्धुलीको खुर्कोटबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख २२९७ नम्बरको बस मङ्गलबार एकआपसमा ठोक्किएर उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा माइक्रोबसका चालक ललितपुर महानगरपालिका–१५ का ३८ वर्षीय गजबहादुर मगर, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–९ की ३० वर्षीया अनिता न्यौपाने, ३२ वर्षीय प्रविण तिवारी र ठेगाना नखुलेका प्रशान्त केसी गम्भीर घाइते भएका छन् । गम्भीर घाइते चालक मगरलाई थप उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको छ ।

यस्तै, अन्य घाइतेहरूमा झापा शिवसताक्षी नगरपालिका–८ की ९ वर्षीया संस्कृति यादव र ३२ वर्षीया कल्पना राई, मेचीनगर नगरपालिका–१३ का ३८ वर्षीय अमेश खड्का, भद्रपुर नगरपालिका–१ का २२ वर्षीय अमृत राना मगर र कचनकवल गाउँपालिका–७ का ४२ वर्षीय दिनप्रसाद सिग्देल रहेका छन् । उनीहरूको सिन्धुलीकै खाल्टेस्थित आत्मीय सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनालगत्तै बस चालक दोलखाको बैतेश्वर गाउँपालिका–६ का सुमन सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना कसरी भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।