सातै प्रदेशमा वर्षा र हिमपात: डडेलधुरा र डोटीमा ‘भारीउन्मुख’ झरी, भोलिसम्म प्रभाव रहने
काठमाडौँ, २५ चैत । नेपालमा सक्रिय पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण आज देशका सातै प्रदेशमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान पश्चिम नेपालबाट सुरु भएको वर्षा साँझसम्म देशभर फैलिएको छ । अकस्मात् भएको मौसम बदलीसँगै वर्षा र हिमपात हुँदा देशभर चिसो बढेको छ भने कतिपय क्षेत्रमा जनजीवन प्रभावित भएको छ ।
विभागले आज साँझ पौने ७ बजे सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो १२ घण्टामा सुदूरपश्चिमका जिल्लाहरूमा ‘भारीउन्मुख’ वर्षा मापन गरिएको छ । सबैभन्दा बढी डडेलधुरामा ४६.६ मिलिमिटर र डोटीमा ४२.२ मिलिमिटर वर्षा भएको छ । पछिल्लो तीन घण्टाको तथ्याङ्क हेर्दा डडेलधुरामा मात्रै ३० मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।
सङ्घीय राजधानी काठमाडौँमा १३ मिलिमिटर, ललितपुरमा १२ मिलिमिटर र भक्तपुरमा ८ मिलिमिटर वर्षा भएको छ । यस्तै सुर्खेतमा १९, धनकुटामा १५ र गोरखामा ११ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ ।
विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार यो मौसमी प्रणाली भोलि (बिहीबार) पनि कायम रहने देखिएको छ । भोलि कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बदली रहनेछ ।
कोशी प्रदेशका केही स्थान र मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । बिहीबार रातिदेखि भने यो प्रणाली क्रमशः कमजोर हुँदै जाने र मौसममा सुधार आउने पूर्वानुमान गरिएको छ ।
वर्षा र हिमपातका कारण हुनसक्ने चिसो र चट्याङको जोखिमबाट बच्न तथा आवश्यक सतर्कता अपनाउन विभागले सर्वसाधारणमा अनुरोध गरेको छ ।