जनकपुर रिफाइनरीमा भीषण आगलागी : १५ करोडको क्षति, पाँच दमकलको सहयोगमा नियन्त्रण

काठमाडौँ, बैशाख ४ । धनुषाको मिथिला नगरपालिका-७, ढल्केबरस्थित जनकपुर रिफाइनरीमा गएराति भीषण आगलागी भएको छ । आगलागीबाट उद्योगको करिब १५ करोड रुपियाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

रिफाइनरीका प्रबन्धक सञ्जय गुप्ताका अनुसार आगलागीबाट उद्योगमा जडान गरिएका महत्त्वपूर्ण ‘स्टिम’ र ‘थर्मोफुल’ मेसिनहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।

घटनाको जानकारी पाउनासाथ जनकपुर, महेन्द्रनगर र ढल्केबरबाट परिचालन गरिएका पाँचवटा वारुणयन्त्र (दमकल) को सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीका साथै स्थानीय बासिन्दाहरू दुई घण्टासम्म खटिएका थिए ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीले आगलागीको कारण हालसम्म नखुलेको जानकारी दिनुभयो । उहाँका अनुसार क्षतिको पूर्ण विवरण सङ्कलन गर्ने कार्य भइरहेको र यसका लागि अझै केही दिन लाग्न सक्ने देखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।