फेसबुकले जुरायो १८ वर्षपछि पारिवारिक पुनर्मिलन : हराएका छोराको खबरले नेगी परिवारमा खुसीयाली
काठमाडौँ, बैशाख ४ ।-सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको एउटा भिडियोका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का डम्बरबहादुर नेगीको परिवारमा १८ वर्षपछि खुसीयाली छाएको छ । वैदेशिक रोजगारीका क्रममा भारतमा हराएका छोरा दीपक नेगी जीवितै रहेको खबर प्राप्त भएपछि परिवार अहिले पुनर्मिलनको व्यग्र प्रतीक्षामा छ ।
घरको कमजोर आर्थिक अवस्थाका कारण १८ वर्षको उमेरमा रोजगारीको खोजीमा भारत पसेका दीपक गाउँकै एक आफन्तसँग हिमाञ्चल प्रदेश पुगेका थिए । त्यहाँ काम गर्ने क्रममा बिरामी परेपछि अस्पताल जाने भनी निस्किएका उनी त्यसपछि परिवारको सम्पर्क बाहिर पुगेका थिए । लामो समयसम्म खोजी गर्दा पनि कुनै पत्तो नलागेपछि परिवारले उनी जीवित रहेको आशा मारिसकेको थियो ।
तर, हालै भारतको लेह-लद्दाख क्षेत्रमा चौँरीगोठमा काम गरिरहेका एक नेपालीले दीपकसँग भेट गरेपछि घटनाले नयाँ मोड लियो । कुराकानीका क्रममा दीपकले आफ्नो घर कञ्चनपुरको देखतभूली भएको बताएपछि ती नेपालीले उनको अवस्थासहितको भिडियो फेसबुकमा सार्वजनिक गरेका थिए । सोही भिडियोका आधारमा प्रहरी र वडा कार्यालयको समन्वयमा परिवार र दीपकबीच सम्पर्क स्थापित भएको हो ।
करिब दुई दशकपछि छोरालाई मोबाइलको स्क्रिनमा देख्दा परिवारका सदस्यहरू भावुक बनेका छन् । दीपकका बुबा डम्बरबहादुर नेगीले यसलाई छोराको पुनर्जन्म र भगवानको कृपाका रूपमा लिनुभएको छ । यस्तै, आमा मानमती नेगीले छोराको अनुहार देख्दा खुसीका आँसु थाम्न नसकेको बताउँदै अब छिट्टै भेट्ने इच्छा व्यक्त गर्नुभएको छ ।
हाल ३६ वर्ष पुगेका दीपक केही मानसिक अस्वस्थताका कारण उपचाररत रहेको र उनको रेखदेख काम गर्ने ठाउँका मालिकले गरिरहेको जानकारी प्राप्त भएको छ । हाल नेगी परिवार र दीपकबीच भिडियो कलमार्फत नियमित कुराकानी भइरहेको छ ।
शुक्लाफाँटा नगरपालिका-१२ का वडाध्यक्ष नवलसिंह रानाले प्रविधिको सकारात्मक प्रयोगका कारण एउटा विछोडिएको परिवार जोडिन सफल भएको बताउनुभयो । दीपकलाई लिनका लागि हाल दिल्लीमा कार्यरत उनका दाजु र भाउजू आगामी २० तारिखमा लद्दाख जाने तयारीमा छन् । नेगी परिवारका तीन छोरामध्ये दीपक माइला हुन् । उनका बुबा हाल स्थानीय सामुदायिक वनमा चौकीदारका रूपमा कार्यरत हुनुहुन्छ ।