काठमाडौँलाई सडक सहयोगापेक्षी मानवमुक्त बनाउन कार्यवाहक प्रमुख डंगोल आफैँ उद्धार सेवामा
काठमाडौँ, वैशाख ३ । काठमाडौँ महानगरपालिकाले काठमाडौँलाई ‘सहयोगापेक्षी सडक मानवमुक्त सहर’ बनाउने उद्देश्यका साथ सडक आश्रित व्यक्तिहरूको उद्धार कार्यलाई तीव्रता दिएको छ । महानगरपालिकाले पशुपति क्षेत्रबाट यो अभियानको औपचारिक थालनी गरेको हो ।
अभियानको पहिलो दिन महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत गायिका आनी छोइङ् डोल्मा, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी तथा महानगर र नेपाल प्रहरीको संयुक्त टोलीले पशुपति, कालीमाटी र टेकु क्षेत्रबाट नौ जनाको उद्धार गरेको छ । उद्धार गरिएकाहरूमध्ये केही शारीरिक रूपमा अशक्त, क्षयरोगका बिरामी र मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरू रहेका छन् ।
उद्धार कार्यमा प्रत्यक्ष संलग्न रहँदै कार्यवाहक प्रमुख डंगोलले सडकमा रहेका सबै व्यक्ति असहाय नभएको र कतिपयले माग्ने कार्यलाई पेसाकै रूपमा अपनाएकाले वास्तविक बेसहाराको पहिचान गरी व्यवस्थापन गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले वास्तविक बेसहारा र अशक्तको मात्र उद्धार गरिरहेका छौँ । उद्धार गरिएकाहरूको स्वास्थ्य परीक्षण र मनोसामाजिक परामर्श गरी मानवोचित व्यवस्थापन गरिनेछ । तर, शारीरिक रूपमा सक्षम व्यक्तिहरूलाई माग्ने पेसामा लाग्न निषेध गरिनेछ ।”
यस अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको अध्यक्षतामा एक उच्च स्तरीय समन्वय समिति गठन गरिएको छ । समितिमा जिल्ला प्रशासन कार्यालय, गुठी संस्थान, पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी र मानव सेवा आश्रमका प्रतिनिधिहरू सदस्य रहेका छन् ।
त्यसैगरी, महानगर प्रहरी बलको संयोजकत्वमा अवस्था अध्ययन, उद्धार, संरक्षण र पारिवारिक पुनर्मिलनका लागि छुट्टै कार्यदल समेत गठन गरिएको छ । उक्त टोलीले हरेक दिन तीन चरण (बिहान ६–९ बजे, दिउँसो १–३ बजे र साँझ ८–१० बजे) मा उद्धार कार्य सञ्चालन गर्नेछ । टोलीले सार्वजनिक तथा सम्पदा क्षेत्रमा रहेका सहयोगापेक्षीहरूको स्क्रिनिङ गर्ने, उपचारमा सहजीकरण गर्ने र सम्भव भएसम्म पारिवारिक पुनःस्थापना गराउने जिम्मेवारी पाएको छ ।
महानगरपालिकाले सामाजिक विकास विभाग र महानगर प्रहरीमार्फत वडा कार्यालय र स्थानीयसँग समन्वय गरी काठमाडौँका सडकलाई मानवोचित र सहयोगापेक्षीमुक्त बनाउने अभियानलाई निरन्तरता दिने जनाएको छ ।