सुनसरीमा ११ लाख मूल्य बराबरको अवैध केरासहित चार जना पक्राउ

काठमाडौँ, बैशख ५ । सुनसरीको हरिनगर गाउँपालिका-४ स्थित भुटहा बजारबाट प्रहरीले अवैध रूपमा ओसारपसार गरिएको ११ लाख रुपैयाँभन्दा बढी मूल्यको काँचो केरासहित चार जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेबेका अनुसार पक्राउ पर्नेहरूमा मोरङ रतुवामाई-८ का २२ वर्षीय प्रल्हाद दाहाल, उर्लाबारी-८ का २४ वर्षीय ज्ञानबहादुर भट्टराई, सुनसरी भोक्राहा नरसिंह-२ का २७ वर्षीय सेराज मियाँ र कोशी गाउँपालिका-८ भण्टाबारीका ६० वर्षीय रामेश्वर दास रहेका छन् ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले घुस्कीबाट इनरुवातर्फ आउँदै गरेका प्रदेश १-०२-००२ च ७४४९ र प्रदेश १-०१-००२ च १८०१ नम्बरका दुईवटा पिकअप भ्यानलाई जाँच गर्ने क्रममा उक्त केरा फेला पारेको हो । ओसारपसार गरिएको काँचो केराको कुनै आधिकारिक बिलविजक नभएपछि प्रहरीले सामग्रीसहित सवारी र संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले बरामद गरिएको केरा र सवारी साधनको कूल मूल्याङ्कन ११ लाख २० हजार रुपैयाँ गरिएको जनाएको छ। नियन्त्रणमा लिइएका व्यक्ति, सवारी र केरालाई आवश्यक कानुनी कारबाहीका लागि सुनसरी भन्सार कार्यालय, सेतुबन्ध कोसी ब्यारेजमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।