सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना: ३ जनाको मृत्यु, १८ जनाकाे अवस्था चिन्ताजनक

सल्यान, ५ वैशाख । सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा शनिबार साँझ जन्ती बोकेको गाडी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी अन्य १८ जना यात्रु गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बनगाड कुपिण्डे नगरपालिका–८ थाराबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको जन्ती बोकेको गाडी वडा नम्बर १० धाइरेमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी ज्यान गुमाउनेहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक विवरणअनुसार दुर्घटनामा घाइते भएका १८ जनाको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि नजिकैको अस्पताल पठाउने र उद्धार गर्ने कार्य भइरहेको छ । साँझको समय र विकट भूगोल भएकाले उद्धारमा केही कठिनाइ भएको बताइएको छ ।

सल्यान प्रहरीको सञ्चार शाखाले घटनाको पुष्टि गर्दै थप विवरण सङ्कलन भइरहेको जनाएको छ । गाडी सडकबाट कति तल खस्यो र दुर्घटनाको कारण के थियो भन्नेबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।