सत्ती कर्णाली सामुदायिक वनको मुख्य आयस्रोत ‘बेत बाँस’ : स्थानीयलाई रोजगारी र सामाजिक सेवामा टेवा
काठमाडौँ, बैशाख ७ । कैलालीको टीकापुर नगरपालिका–७ स्थित सत्ती कर्णाली सामुदायिक वन बेत बाँस उत्पादन र बिक्रीका लागि जिल्लाकै प्रमुख केन्द्र बनेको छ । बेत बाँसलाई मुख्य आयस्रोत बनाएको यस सामुदायिक वनले वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्नुका साथै स्थानीयलाई रोजगारीको अवसरसमेत सिर्जना गर्दै आएको छ ।
हाल वनमा काँचो बेत सङ्कलनको कार्य तीव्र रूपमा भइरहेको छ । वनले सङ्कलन कार्यमा संलग्न स्थानीय कामदारहरूलाई प्रतिकेजी ११ रुपैयाँ उपलब्ध गराउँदै आएको छ । यद्यपि, पर्याप्त कामदार नपाउँदा वनको लक्ष्य अनुसारको बेत सङ्कलनमा भने केही बाधा पुगेको छ । वन कार्यालय प्रमुख मीनबहादुर ठकुल्लाका अनुसार यस वर्ष ३ हजार क्विन्टल बेत सङ्कलन गर्ने लक्ष्य लिइएकोमा हालसम्म करिब ९०० क्विन्टल मात्र सङ्कलन भएको छ । गत वर्ष पनि कामदारकै अभावका कारण लक्ष्य पूरा हुन नसकी १ हजार ४०० क्विन्टल मात्र सङ्कलन भएको थियो ।
कुल १४६ हेक्टर क्षेत्रफलमा फैलिएको यस वनको १० हेक्टरभन्दा बढी क्षेत्र कर्णाली नदीको कटानका कारण नष्ट भइसकेको छ । वन व्यवस्थापनका लागि यसलाई चार भागमा विभाजन गरी चक्रीय प्रणाली अनुसार हरेक पाँच वर्षमा एक पटक बेत सङ्कलन गर्ने गरिएको छ ।
वनको आर्थिक अवस्था र सामाजिक योगदानबारे जानकारी दिँदै सामुदायिक वनका अध्यक्ष जितराम चौधरीले भन्नुभयो, “हामीले वार्षिक ७० देखि ८० लाख रुपैयाँसम्मको बेत बाँस बिक्री गर्दै आएका छौँ । उक्त आम्दानीबाट प्राप्त रकम उपभोक्ताहरूको हित र सेवामा खर्च गर्ने गरेका छौँ ।” वनले आफ्नो आम्दानीबाट ज्येष्ठ नागरिकलाई कम्बल वितरण, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति र परिवारमा कसैको निधन हुँदा किरिया खर्चबापत नगद सहयोग जस्ता सामाजिक कार्यहरू गर्दै आएको छ ।
मूल्य संरचनाका हिसाबले वनले उपभोक्ताहरूलाई सुकेको बेत प्रतिकेजी ५० रुपियाँमा उपलब्ध गराउँदै आएको छ भने बाह्य बजारमा ९० रुपैयाँ र टेन्डरमार्फत १०५ रुपैयाँसम्ममा बिक्री गर्ने गरेको छ । बजारमा बेतको माग अत्यधिक भए पनि उत्पादनले माग धान्न नसकेको अध्यक्ष चौधरीको भनाइ छ । टीकापुर क्षेत्रमा सञ्चालित दर्जनौँ फर्निचर उद्योगहरूका लागि कच्चा पदार्थको मुख्य स्रोत यही वन रहेको छ ।
तर, कर्णाली नदीको निरन्तर कटानका कारण वनको क्षेत्रफल बर्सेनि घट्दै जानु र टीकापुरको दक्षिण-पूर्वी क्षेत्र जोखिममा पर्नु यस सामुदायिक वनका लागि मुख्य चुनौती बनेको छ ।