मिचाहा प्रजाति ‘बेसरम’ झारका कारण घोडाघोडी ताल संकटमा : संरक्षणमा बजेट अभाव

काठमाडौँ, वैशाख १३ । विश्व रामसार सूचीमा सूचीकृत एवं नेपालको पहिलो चरा अभय आरण्य (बर्ड सेन्चुरी) कैलालीको घोडाघोडी ताल मिचाहा प्रजातिको ‘बेसरम’ झारका कारण संकटमा परेको छ। यो झारको तीव्र विस्तारले गर्दा तालको प्राकृतिक स्वरूप र यसमा आश्रित जैविक विविधतामा गम्भीर असर पुगेको छ।

विशेष गरी तालको उत्तरी र पूर्वी भूभागमा बेसरम झारले ओगट्ने क्रम बढेको छ। यसले सिमसार क्षेत्रको पारिस्थितिक प्रणाली, जलचर, र चराचुरुङ्गीको बासस्थानलाई प्रतिकूल प्रभाव पारेको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ।

पाँच हेक्टरमा फैलियो बेसरम
डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ वन अधिकृत दीपेन्द्र केसीका अनुसार हाल ताल क्षेत्रको करिब पाँच हेक्टर क्षेत्रफलमा बेसरम झार फैलिएको छ। “यो झार अत्यन्त तीव्र गतिमा फैलने प्रकृतिको छ,” अधिकृत केसीले भन्नुभयो, “अहिले करिब दुई हेक्टर क्षेत्रमा त झार निकै बाक्लो भइसकेको छ। समयमै नियन्त्रण गर्न नसकिए यसले थप ठूलो क्षेत्र ओगट्ने निश्चित छ।”

बजेटको न्यूनता मुख्य चुनौती
सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालू आर्थिक वर्षमा यो झार नियन्त्रणका लागि जम्मा रु १ लाख मात्र बजेट विनियोजन गरेको छ। उपलब्ध सीमित बजेटका कारण यस वर्ष करिब आधा हेक्टर क्षेत्रफलबाट मात्रै झार हटाउन सकिने अवस्था रहेको वन कार्यालयले बताएको छ।

विगतका वर्षहरूमा क्रमशः ५ लाख र ३ लाख बजेट विनियोजन हुँदा केही हेक्टर क्षेत्रफल सफा गरिएको भए तापनि झार फैलने दरको तुलनामा बजेट र प्रयास अपर्याप्त देखिएको छ ।

संरक्षणकर्मीको चिन्ता
घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्चका व्यवस्थापक दिल धामी र चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीले बजेट अभावका कारण सफाइ अभियानले निरन्तरता पाउन नसकेको बताउनुभयो। उहाँहरूका अनुसार यदि यो समस्यालाई दीर्घकालीन रूपमा समाधान गरिएन भने घोडाघोडी ताल विस्तारै घाँसे मैदानमा परिणत हुने र यसको अन्तर्राष्ट्रिय पहिचान नै संकटमा पर्ने जोखिम छ।

वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्यका अनुसार बेसरम जस्ता मिचाहा प्रजातिले पानीको सतह ढाक्दा अक्सिजनको कमी भई स्थानीय जलचर विस्थापित हुने गर्दछन्। तालको दीर्घकालीन संरक्षणका लागि पर्याप्त बजेट, उचित कार्ययोजना र सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक देखिएको छ ।