बीपी राजमार्ग अझै अवरुद्ध: रोशीको बाढीले डाइभर्सन बगाएपछि यात्रुको बिचल्ली, ६०० को उद्धार
काभ्रेपलाञ्चोक, १४ वैशाख । शनिबार र आइतबारको अविरल वर्षाका कारण बीपी राजमार्ग पुनः अवरुद्ध भएको छ। रोशी खोलामा आएको बाढीले विभिन्न स्थानमा सडक र अस्थायी डाइभर्सन बगाएपछि यातायात सेवा ठप्प भएको हो।
डिभिजन सडक कार्यालय भक्तपुरले आइतबार दिनभर सडक खुलाउने प्रयास गरे पनि अपराह्नपछि पुनः वर्षा भएपछि काम प्रभावित भएको छ। कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार आठ स्थानमा डाइभर्सन बनाएर सडक सुचारु गर्न खोजिएको थियो। तर, चार सयबेँसी भन्ने स्थानमा काम गर्दागर्दै पानी परेपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर काम रोकिएको छ। सोमबार बिहान वर्षा नभएमा पुनः डाइभर्सन निर्माणलाई निरन्तरता दिइने उहाँले जानकारी दिनुभयो।
रोशी खोलाको बाढीले काभ्रेको नमोबुद्धस्थित कटुन्जेदेखि रोशीको मङ्गलटार खण्डमा करिब ४ किलोमिटर डाइभर्सनमा क्षति पुर्याएको छ। शनिबारको वर्षाले चौकीडाँडा, घुमाउने, नार्के, चिउरीबास, कालढुङ्गा, डालाबेँसी, बुलढुङ्गा र माम्तीमा सडक बगाएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ। गत असोजको विनाशकारी बाढीपछि यस क्षेत्रमा अस्थायी डाइभर्सन बनाएर सवारी सञ्चालन गरिँदै आएको थियो।
सडक अवरुद्ध भएपछि अलपत्र परेका ६०० भन्दा बढी यात्रुलाई प्रहरीले वैकल्पिक मार्गबाट उद्धार गरेको छ। उनीहरूलाई रोशी खोलाको झोलुङ्गे पुल तार्दै तेमाल गाउँपालिका हुँदै नमोबुद्धको भकुण्डेसम्म पुर्याइएको छ। जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार भकुण्डे पुगेका यात्रुहरूलाई स्थानीय बासिन्दा र प्रहरीको समन्वयमा फलफूल, पानी र खाजा वितरण गरिएको थियो।
राजमार्ग बन्द भएपछि धुलिखेल, काभ्रेभञ्ज्याङ, मङ्गलटार र सिन्धुलीको नेपालथोकमा सयौँ सवारीसाधनहरू ‘होल्ड’ गरिएका छन्। गत असोजमा १८ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएपछि अहिले यस खण्डमा स्थायी सडक निर्माणको काम भइरहेको छ। तर, बारम्बारको वर्षाले अस्थायी बाटो बगाउँदा यात्रुले पटक–पटक सास्ती खेप्नुपरेको छ।