व्यवसायी शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

 

काठमाडौं, १५ वैशाख । सर्वोच्च अदालतले पक्राउ परेका व्यवसायी शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का नाममा आदेश जारी गरेको छ।

न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आइतबार बन्दीप्रत्यक्षीकरणको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै बाटोको म्यादबाहेक सूचना पाएको २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफसहित बन्दी (गोल्छा) लाई उपस्थित गराउन सीआईबीलाई आदेश दिएको हो।

सीआईबीले आफ्नो पतिलाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखेको भन्दै रिहाइको मागसहित गोल्छाकी पत्नी सीमा गोल्छाले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी थिइन्। सोही निवेदनमाथि सुनुवाइ गर्दै अदालतले पक्राउ गर्नुको आधार र कारणसहित जवाफ माग गरेको हो।

अदालतको आदेशमा रिट निवेदनको प्रतिलिपिसहित विपक्षीका नाममा सूचना म्याद जारी गर्न भनिएको छ। साथै, म्यादभित्र लिखित जवाफ प्राप्त भएपछि वा म्याद गुज्रिएपछि, निवेदकलाई म्याद थप गरी भइरहेको भनिएको अनुसन्धानको सक्कल फाइलसमेत झिकाउन सर्वोच्चले आदेश दिएको छ।