प्रकृतिको पूजा गर्दै किरात समुदायमा सुरु भयो उभौली
सुनसरी, १८ वैशाख । वैशाख शुक्ल पूर्णिमासँगै किरात राई समुदायको महान् चाड ‘उभौली’ सुरु भएको छ। प्रकृतिपूजक वा धर्तीपूजक मानिने किरात समुदायले गाउँ–गाउँमा रहेका भूमेस्थानमा पूजा आराधना गर्दै यस चाडको उल्लासमय सुरुवात गरेका छन्।
उभौलीलाई ‘साकेला’ पर्वका रूपमा पनि चिनिन्छ। विशेषगरी बाली लगाउनुअघि प्रकृतिलाई खुसी पार्न र खेतीपाती सप्रियोस् भन्ने कामना गर्दै यस चाडमा भूमिको पूजा गरिन्छ। मङ्सिर पूर्णिमाका दिन एक दिन मात्र ‘उधौली’ मनाइन्छ भने वैशाख पूर्णिमादेखि सुरु हुने ‘उभौली’ एक महिनासम्म मनाउने परम्परा छ। उभौली सुरु भएसँगै अहिले हरेक साकेला थानहरूमा विभिन्न लयका गीत गाउँदै ढोल र झ्याम्टाको तालमा नाच्नेहरूको लर्को देखिन थालेको छ।
आधुनिक सहर धरानमा अन्य समय पप, रक र हिपहप सङ्गीतमा रमाउने युवा पुस्ता अहिले साकेलाको ढोल र झ्याम्टाको तालमा रमाइरहेका छन्। टोलटोलमा भइरहेका साकेला सिली (नाच) मा युवा पुस्ताकै बाक्लो उपस्थिति छ।
धरान–१६ का नवीन बान्तवा भन्छन्, “अबको एक महिना हामी साथीहरूसँग मौलिक गहना र पहिरनमा सजिएर टोलटोलमा साकेला नाच्छौँ। पुर्खाले मान्दै आएको चाडपर्व हामीले बिर्सनु हुँदैन। त्यसैले १५ दिनअघिदेखि नै भाइबहिनीलाई साकेलाको प्रशिक्षण दिएर पूर्वका विभिन्न ठाउँमा नाच्न जाने गरेका छौँ।”
धरान–११ की सरस्वती राई पनि साकेला किरात जातिको मुख्य पहिचान भएको बताउँछिन्। “साकेला सुरु भएसँगै बेग्लै रमाइलो हुन्छ। हामीले बान्तवा सिलीका रूपमा विभिन्न गीत प्रस्तुत गरेर नाच्ने गरेका छौँ,” उनले भनिन्।
साकेला नाच्दा युवाहरू दौरा–सुरुवाल र टोपीमा सजिन्छन् भने युवतीहरू गुन्युचोली, लाछा, सिरबन्दी, चेप्टेसुन, पैसाको हार, नौगेडीजस्ता परम्परागत गहना लगाउँछन्। छातीमा पेचुरी, धजुरी, बाबु, बुन्छत र मुर्चुङ्गा झुन्ड्याएर ढोल र झ्याम्टाको तालमा चराचुरुङ्गी र जीवजनावरको हाउभाउ गर्दै नाच्ने परम्परा छ।
गोलो घेरामा बसेर विभिन्न जनावरको अभिनय गर्दै नाच्नुलाई ‘सिली’ भनिन्छ। किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईका अनुसार हात र खुट्टाको ताल मिलाएर नाचिने सिली राईका विभिन्न जाति र ठाउँअनुसार फरक–फरक हुन्छन्।
“साकेलामा हजारौँ किसिमका सिली नाचिए पनि मुख्यतया तीनवटा सिली प्रचलनमा छन्,” अध्यक्ष राईले भने, “घाम–पानी, हावाहुरी र जमिनलाई पुज्ने ‘आराधना सिली’, कीराफट्याङ्ग्रा र चराचुरुङ्गीको नक्कल गरी नाचिने ‘अनुकरण सिली’ र दैनिक रूपमा गरिने क्रियाकलाप (जस्तैः बारी खन्ने, डोको बोक्ने) लाई झल्काउने ‘प्रतिक्रियात्मक सिली’ प्रमुख हुन्।”
उभौलीलाई ऋतु परिवर्तनको सङ्केत दिने चाडका रूपमा पनि लिइन्छ। वसन्त ऋतुको समयमा पर्ने यो चाड पृथ्वीमा कृषि युग सुरु भएदेखि नै मनाउँदै आइएको बुढापाकाहरू बताउँछन्।
तराई र मधेसमा गर्मी बढ्दै जाँदा चराचुरुङ्गी, जङ्गली जनावर र खोलाका माछाहरू चिसो खोज्दै लेक (उँभो) तिर लाग्छन्। त्यसैगरी, हिउँदमा बेँसी झरेका मानिसहरू पनि गर्मी सुरु भएसँगै लेकतिर उकालिने परम्परा रहेको छ। यसै प्राकृतिक चक्रको प्रतिनिधित्व गर्दै ‘उँभो’ लाग्ने समयमा मनाइने भएकाले यसलाई ‘उभौली’ भनिएको हो।
उभौली पर्वलाई किरात समुदायका विभिन्न जातिले आफ्नै भाषामा फरक–फरक नामले सम्बोधन गर्छन्। लिम्बूहरूले ‘चासोक’ वा ‘यक्वा तङनाम’, राई र चाम्लिङले ‘साकेला’, सुनुवारले ‘फोलष्यादर’, बान्तवाले ‘साकेन्वा’ र दुमी राईहरूले ‘तोसी’ भन्दछन्। चार किरात (राई, लिम्बू, सुनुवार र याक्खा) समुदायले उभौलीलाई महान् चाडका रूपमा उल्लासका साथ मनाउँछन्।
धरान, इटहरी, तरहरा, बेलबारी, विराटचोक, दमकलगायतका सहरी क्षेत्रदेखि पूर्वी पहाडी जिल्लाहरू खोटाङ, भोजपुर, सङ्खुवासभा, उदयपुर, सोलुखुम्बु, ओखलढुङ्गा, धनकुटा र इलामसम्म उभौलीको उल्लास छाएको छ। त्यसैगरी, काठमाडौँको टुँडिखेल र हात्तीवनलगायतका स्थानमा पनि पूर्वेली राई समुदायले भव्य रूपमा साकेला नाचेर यो पर्व मनाइरहेका छन्।
सरकारले किरात समुदायको मागलाई सम्बोधन गर्दै २०६४ सालमा उभौली (वैशाख पूर्णिमा) र २०५८ सालमा उधौली (मङ्सिर पूर्णिमा) लाई राष्ट्रिय चाड घोषणा गरी सार्वजनिक बिदा दिँदै आएको छ।