मस्कोको एक्लो नेपाली रेस्टुरेन्ट ‘करी हाउस’: जहाँ मःम पाक्छ, तर रेमिट्यान्स रोकिन्छ

मस्को (रुस), १८ वैशाख । अप्रिलको मध्यतिर रुसको राजधानी मस्कोमा घाम र छायाको लुकामारी चलिरहेको छ। मन्ददेखि उडाउलाजस्तो हुरी चल्ने यो मौसमलाई रुसीहरू ‘समर सिजन’ (गर्मीयाम) भन्छन्। उनीहरूका लागि यो वर्षकै सबैभन्दा राम्रो मौसम हो, किनभने अन्य समयमा यहाँ घुँडासम्म हिउँ पर्नु सामान्य मानिन्छ।

यही चिसो मौसमका बीच रिम्साया मेट्रो स्टेसन नजिकै रहेको ‘करी हाउस’ मा भने नेपालीहरूको न्यानो जमघट बाक्लो हुँदै छ। यो मस्कोमा हाल सञ्चालनमा रहेको एक मात्र पूर्ण नेपाली रेस्टुरेन्ट हो। यहाँ मःमसहित दाल, भात, तरकारी र खसीको भुटनजस्ता खाँटी नेपाली परिकार पाक्छन्।

“नेपाली परिकार पाइने इन्डियन रेस्टुरेन्टहरू पनि होलान्, तर नेपालीले नै सञ्चालन गरेको र नेपाली स्वाद पाइने यो एउटा मात्रै रेस्टुरेन्ट हो। अहिले त मःम पाइने पनि मस्कोको यो एक्लो ठाउँ हो,” सञ्चालक डिल्ली खरेल ‘सुमन’ भन्छन्।

करिब ३० वर्षदेखि मस्कोमा रहँदै आएका खरेलले केही महिनाअघि मात्रै यो रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन्। यसअघि अर्को ठाउँमा सञ्चालन गरेको उनको रेस्टुरेन्टमा आगलागी हुँदा करिब दुई करोड रुपैयाँ जलेर खरानी भएको थियो। त्यो पीडालाई भुलेर उनले सुरु गरेको ‘करी हाउस’ अहिले नेपालीहरूको साझा चौतारी बनेको छ।

विदेशीको जिब्रोमा नेपाली मःम
रुसमा मःमजस्तै देखिने ‘पेलमेनी (डम्पलिङ)’ पाइन्छ, तर नेपाली मःमको स्वाद र यसको झोलको पारखी रुसी नागरिकहरू पनि बनिसकेका छन्। मःम खाएपछि दोहोर्‍याएर आउने रुसी ग्राहक धेरै रहेको सञ्चालक खरेल बताउँछन्।

यहाँको स्वाद अन्तर्राष्ट्रिय पाहुनालाई पनि उत्तिकै मन परेको छ। चार साता लामो फेलोसिपका लागि मस्को पुगेका माल्दिभ्सका पत्रकार नाजिम हसनले ‘करी हाउस’ मा मःम खाएपछि भने, “मस्को आएदेखि खाएको सबैभन्दा मीठो परिकार नै यही हो।” उनीसँगै रहेका श्रीलङ्काका आसन्का निलगराथा, भारतकी अर्पिता चौधरी र भुटानकी दोर्जी चोदेनले पनि नेपाली मःमको खुलेर प्रशंसा गरे।

करी हाउस रेस्टुरेन्ट मात्र होइन, मस्कोमा रहेका नेपालीहरूका लागि पिरलो बिसाउने र खुसी साट्ने थलो पनि हो। अगाडिको भाग अन्य पाहुनाका लागि छुट्याइए पनि भान्सासँगै जोडिएको पछाडिको सानो हल भने नेपालीहरूका लागि ‘रिजर्भ’ जस्तै हुन्छ।

त्यहाँ विद्यार्थी, व्यवसायीदेखि गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का प्रतिनिधिहरूसम्म भेला हुन्छन्। हालै एक साँझ त्यहाँ पुग्दा एनआरएनए रुसका अध्यक्ष सीताराम कट्टेल ‘मिलन’ र उपाध्यक्ष सङ्ज्ञान कार्कीलगायतको टोली नयाँ वर्षको सांस्कृतिक कार्यक्रमको तयारीबारे छलफल गरिरहेको थियो। “कोरोना महामारीपछि रोकिएको सांस्कृतिक कार्यक्रम यसपटक गर्दै छौँ, यो विदेशमा नेपाली कला संस्कृति संरक्षण गर्ने अवसर पनि हो,” अध्यक्ष कट्टेलले भने।

सोही हलको अर्को कुनामा रुसी सेनामा २२ महिना काम गरेर अवकाश पाएका एक नेपाली भेटिए। भारतीय सेनामा १७ वर्ष बिताएर दुबई हुँदै रुसी सेनामा पुगेका उनी यहाँ आएर थकान मेट्ने गरेको बताउँछन्। “हामी यहाँ रमाइलो गर्न आउँछौँ। जे भन्यो त्यही नेपाली खाना पाइन्छ, नेपालमै आएजस्तो लाग्छ,” छेवैको मादल देखाउँदै उनले भने, “कहिलेकाहीँ यही मादलको तालमा गाउँदै नाच्दै रात बित्छ।”

कमाएको पैसा नेपाल पठाउनै सकस
रेस्टुरेन्टमा भेटिने अधिकांश नेपालीको एउटै ठुलो गुनासो छ– ‘यहाँ कमाएको पैसा नेपाल पठाउन पाइएन।’

रुस–युक्रेन युद्ध सुरु भएपछि सन् २०२२ यता पश्चिमा देशहरूले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाएका छन्। रुसी बैङ्कहरूले विश्वव्यापी भुक्तानी प्रणाली ‘स्विफ्ट (SWIFT)’ मार्फत कारोबार गर्न नपाएपछि यहाँ रहेका नेपालीलाई रेमिट्यान्स पठाउन सकस भएको हो।

यस विषयमा रुसी सरकारका उप–परराष्ट्रमन्त्री एन्ड्रे रुडेन्को पनि जानकार छन्। राष्ट्रिय समाचार समितिसँगको कुराकानीमा उनले भने, “प्रतिबन्धहरूका कारण हाम्रो बैङ्किङ प्रणालीमा असर परेको छ, त्यसैले रुसबाट नेपालमा पैसा पठाउन पहिले जस्तो सजिलो छैन। तर, जहाँ इच्छा हुन्छ, त्यहाँ उपाय पनि हुन्छ।”

मन्त्री रुडेन्कोले यसको वैकल्पिक समाधानका रूपमा भारत, चीन र भियतनामजस्ता देशहरूसँगको बैङ्किङ सहकार्यलाई औँल्याए। “उदाहरणका लागि भारतमा रुसको ठुलो बैङ्कमध्ये एक ‘स्बेरबैङ्क’ को शाखा छ, जसले प्रभावकारी रूपमा काम गरिरहेको छ। भविष्यमा यो पनि एउटा विकल्प हुन सक्छ,” उनले भने।

रेमिट्यान्सको बाटो बन्द हुँदा मस्कोमा रहेका नेपालीहरू मारमा परे पनि कुनै न कुनै दिन यो समस्या समाधान हुनेमा उनीहरू आशावादी देखिन्छन्। तबसम्मका लागि ‘करी हाउस’ को मःम र मादलको तालले उनीहरूको परदेशको बसाइलाई थोरै भए पनि सहज बनाइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *