चोरिएका मूर्ति तथा कलाकृति फिर्ता गरेर सम्पदा क्षेत्रका रित्ता आसन भर्दै कार्यवाहक प्रमुख डंगोल
काठमाडौँ, वैशाख १९ । लामो समयदेखि रित्तो रहेका मन्दिरका आसनहरू अब फेरि भरिन थालेका छन् । कुनै समय चोरी भएर सात समुद्रपारि पुर्याइएका ‘नेपाली देवता’हरू आफ्नै घर फर्किएका छन् । यस अभियानको नेतृत्व गरिरहनुभएकी काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको एउटै संकल्प छ – “सम्पदाका रित्ता आसनहरू अब रित्तो रहनु हुँदैन, हाम्रा पूर्वजका नासोहरू आफ्नै थातथलोमा विराजमान हुनुपर्छ।”
ओम बहालमा फर्कियो बुद्धको मुस्कान
२०८३ वैशाख १८ गते, बुद्ध जयन्तीको विशेष साइत । काठमाडौँ-२३ जोरगणेश ओम बहाल टोलस्थित न्हुछे बहा (बज्रधातु विहार) मा एउटा छुट्टै उल्लास थियो । दशकौँअघि चोरी भएर अमेरिकाको न्यूयोर्कस्थित ‘टिवेट हाउस कलेक्सन’ पुर्याइएको ऐतिहासिक प्रस्तर बुद्धको मूर्ति पुनः आफ्नै आसनमा फर्किएको थियो ।
वि.सं. २०७८ फागुनमा नेपाल त आयो, तर यो मूर्ति राष्ट्रिय सङ्ग्रहालयको सुरक्षित घेराभित्र सीमित थियो । कार्यवाहक प्रमुख डंगोलको विशेष सक्रियता, वडाध्यक्ष मचाराजा महर्जनको समन्वय र सम्पदा अभियन्ताहरूको अथक प्रयासपछि वैशाख १७ गते मूर्ति सङ्ग्रहालयबाट बुझेर १८ गते बाजागाजासहित विहारमा पुनःस्थापित गरियो । सङ्ग्रहालयको काँचभित्रको प्रदर्शनीभन्दा विहारको पूजाकोठामा बुद्ध मूर्तिको चमक अर्कै देखिन्थ्यो ।
“मूर्तिको सुन्दरता बस्ती र चोकमा हुन्छ”
मूर्तिको पुनःस्थापना उत्सवमा भावुक हुँदै कार्यवाहक प्रमुख सुनिता डंगोलले भन्नुभयो, “नेपाल मण्डल भित्रका यी मूर्तिहरू केवल ढुङ्गाका आकृति मात्र होइनन्। यी हरेक मूर्तिमा प्राण हुन्छ। यिनले हाम्रो सामाजिक जीवनसँग गहिरो आत्मीय सम्बन्ध राख्छन्। त्यसैले यी मूर्तिहरूको वास्तविक सुन्दरता सङ्ग्रहालयमा होइन, हाम्रा बस्ती र चोकहरूमा हुन्छ ।”
उहाँका अनुसार यी सम्पत्तिहरू समुदायको जीवन्त इतिहास हुन्, जसले पुस्तौँदेखि नेपाली समाजलाई जोडेर राखेका छन् ।
सम्पत्ति फिर्ताको ‘ह्याट्रिक’
काठमाडौँ महानगरपालिकाले पछिल्लो समय चोरिएका कलाकृतिलाई मूल स्थानमै फर्काउने काममा उत्साहजनक सफलता हासिल गरेको छ । बुद्ध मूर्ति त पछिल्लो कडी मात्र हो, यसअघि अन्य दुई महत्त्वपूर्ण सम्पदाले पनि आफ्नो आसन पाइसकेका छन् ।
कुमारी घरको तोरण : वि.सं. २०५६ सालतिर वसन्तपुरको कुमारी घरबाट चोरिएको १७औँ शताब्दीको काष्ठ तोरण बेलायतबाट फिर्ता ल्याएर २०८२ मङ्सिर ५ गते पुनःस्थापित गरियो। सङ्ग्रहालयबाट यो तोरण बुझ्न डंगोल आफैँ पुग्नुभएको थियो ।
महागौरी पार्वतीको मूर्ति : १३औँ शताब्दीको यो दुर्लभ प्रस्तर मूर्ति बेलायतबाट फिर्ता आएको वर्षौँपछि २०८३ वैशाख ५ गते मरुस्थित गःगुठि सूर्यमुखी महादेव मन्दिर परिसरमा पुनःस्थापित गरियो ।
प्रशासनिक साहस र कानुनी विजय
सङ्ग्रहालयमा रहेका मूर्तिहरूलाई बाहिर निकालेर समुदायलाई सुम्पिनु कानुनी र सुरक्षाका हिसाबले चुनौतीपूर्ण कार्य हो। तर कार्यवाहक प्रमुख डंगोलले प्राचीन स्मारक संरक्षण ऐन २०१३ को दफा २० (क) बमोजिमको व्यवस्थालाई टेकेर यो साहस देखाउनुभयो । स्थानीय सरकार, पुरातत्व विभाग, सङ्ग्रहालय र समुदायबिचको यो समन्वयलाई सङ्ग्रहालय प्रमुख अरुणा नकर्मीले ‘उत्कृष्टताको नमूना’ को रूपमा व्याख्या गर्नुभएको छ ।
सम्पदा अभियन्ताहरू गणपतिलाल श्रेष्ठ र सञ्जय अधिकारीको बुझाइमा महानगरको यो अग्रसरताले अन्तर्राष्ट्रिय स्तरमा पनि एउटा बलियो सन्देश दिएको छ – “नेपालले आफ्ना मूर्तिहरू संरक्षण गर्न सक्छ, त्यसैले चोरिएका कलाहरू ससम्मान फिर्ता गर ।”
सांस्कृतिक पहिचानको पुनर्जागरण
मन्दिरका रित्ता आसनहरू भरिनु भनेको केवल एउटा ढुङ्गाको प्रतिस्थापन हुनु मात्र होइन, बरु एउटा समुदायको हराएको गौरव र आस्था फर्कनु हो। ओम बहालका गुठियारदेखि मरुका स्थानीयसम्मको अनुहारमा देखिएको खुसीले काठमाडौँ महानगरको यो ‘घर फर्क’ अभियान कति प्रभावकारी छ भन्ने पुष्टि गर्छ।
कार्यवाहक प्रमुख डंगोलको नेतृत्वमा सुरु भएको यो अभियानले अब अन्य रित्ता आसनहरूमा पनि आशाको सञ्चार गराएको छ । अबका दिनमा विदेशी भूमिमा रहेका अन्य नेपाली देवताहरू पनि चाँडै आफ्नै आसनमा फर्किनेछन् भन्ने विश्वास काठमाडौँबासीमा जागेको छ ।