देशभर बदली, पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, २५ वैशाख । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको दोहोरो प्रभावका कारण देशभरको मौसममा फेरबदल आएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभावले समेत मौसम प्रभावित बनेको हो ।
अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहेको छ । तराईका क्षेत्रमा भने आंशिक बदलीको अवस्था छ । बागमती, गण्डकी र लुम्बिनीका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी र मधेश प्रदेशसहित पहाडी भू–भागमा मौसम सामान्यतया बदली रहनेछ । कोशीसहित अन्य प्रदेशका पहाडी भेगका केही स्थान र मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, तराईका बाँकी क्षेत्रमा हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने देखिएको छ ।
आज राति पनि पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली नै रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् । मधेश प्रदेशसहित अन्य हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।