रणनीतिक जलमार्ग हर्मुज पार गर्न चिनियाँ जहाजलाई इरानको अनुमति
तेहरान, ३१ बैशाख । इरानी नौसैनिक बलले चिनियाँ जहाजहरूको एक समूहलाई रणनीतिक जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ (हर्मुज जलडमरूमध्य) हुँदै यात्रा गर्न अनुमति दिएको छ । मङ्गलबार रातिदेखि लागू हुने गरी चिनियाँ टोलीलाई उक्त मार्ग प्रयोगको बाटो खुलेको हो ।
इरानी समाचार एजेन्सी ‘तस्निम’का अनुसार, इरान सरकारको निर्णयपछि चिनियाँ जहाजहरूलाई इरानको व्यवस्थापन र पारवहन कानुन बमोजिम सो जलमार्ग पार गर्न अनुमति दिइएको छ । अधिकारीहरूलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार यी जहाजहरूको आवागमन इरानी नियमन र व्यवस्थापनको दायराभित्र रहनेछ ।
बेइजिङको विशेष अनुरोधमा यो मार्ग प्रयोगका लागि सहमति जुटेको बताइएको छ । बुधबार साँझ इरानी व्यवस्थापन नियमावलीमा आवश्यक समझदारी भएपछि चिनियाँ जहाजहरूको पारवहन औपचारिक रूपमा सुरु भएको हो ।
विश्वकै प्रमुख तेल निर्यात मार्ग मानिने हर्मुज जलडमरूमध्यमा इरानको कडा प्रभाव र निगरानी रहँदै आएको छ । चीन र इरानबीचको बढ्दो रणनीतिक साझेदारीका बीच यो विकासक्रमलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।