बढ्दो बेरुजुप्रति राष्ट्रपतिको चिन्ता : आर्थिक अनुशासन र पारदर्शिता कायम गर्न निर्देशन
काठमाडौँ, १ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा बढ्दो बेरुजुप्रति चिन्ता व्यक्त गर्दै सार्वजनिक निकायहरूमा आर्थिक अनुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित एक विशेष समारोहमा महालेखापरीक्षक तोयम रायाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । सो प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले वित्तीय अनुशासन कायम गर्नु राज्यको प्राथमिक दायित्व भएको बताउनुभयो ।
“बेरुजु फछ्र्योट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुन सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जवाफदेही हुनुपर्छ,” राष्ट्रपति पौडेलले भन्नुभयो, “फजुल खर्चलाई निरुत्साहित गरी आर्थिक अनुशासन कायम गर्न सके मात्र मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा हुन सक्छ ।”
राष्ट्रपतिले महालेखापरीक्षकको प्रतिवेदनले औँल्याएका विषयहरूलाई गम्भीरतापूर्वक लिई सम्बन्धित निकाय र सरोकारवालाहरूले आफ्नो कार्यशैलीमा सुधार ल्याउनुपर्ने उल्लेख गर्नुभयो । बेरुजु कम गर्दै सुशासन कायम गर्न महालेखापरीक्षकको कार्यालयको भूमिका महत्वपूर्ण हुने भन्दै उहाँले आगामी दिनमा संस्थागत क्षमता र पेसागत दक्षता अभिवृद्धिमा थप क्रियाशील हुन कार्यालयलाई सुझाव दिनुभयो ।
नेपालको संविधानबमोजिम महालेखापरीक्षकले हरेक वर्ष सरकारी निकायहरूको लेखापरीक्षण गरी तयार पारेको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ । उक्त प्रतिवेदनमा सरकारको खर्च, आम्दानी र वित्तीय पारदर्शिताको विस्तृत विवरण समेटिएको हुन्छ ।