काठमाडौँमा पशुपालक महिलाहरूको अन्तरराष्ट्रिय सम्मेलन आयोजना हुने

काठमाडौँ, जेठ ५ । विश्वका ४० भन्दा बढी देशका पशुपालक महिलाहरूको सहभागितामा काठमाडौँमा ‘ग्लोबल ग्यादरिङ अफ पास्टोरालिस्ट वुमेन’ (पशुपालक महिलाहरूको विश्वव्यापी भेला) आयोजना हुने भएको छ । यही जेठ १२ देखि १५ गतेसम्म सञ्चालन हुने उक्त सम्मेलनमा खुला चरन क्षेत्र र पशुपालन (र्‍यान्च) व्यवसायमा संलग्न महिलाहरूको उल्लेख्य उपस्थिति रहनेछ ।

अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को मुख्य आयोजनामा हुन लागेको यो सम्मेलन ‘अन्तरराष्ट्रिय चरनभूमि तथा पशुपालक वर्ष २०२६’ अन्तर्गतको एक प्रमुख विश्वव्यापी कार्यक्रम हो । यस भेलाको मुख्य उद्देश्य पशुपालक महिलाहरूको नेतृत्वलाई कदर गर्ने, उनीहरूका अनुभव र मौलिक ज्ञान साटासाट गर्ने तथा पशुपालन, चरनभूमि व्यवस्थापन र जलवायु न्यायका सवालमा अन्तरराष्ट्रिय सहकार्यलाई मजबुत बनाउनु रहेको छ ।

सम्मेलनको एक महत्वपूर्ण पक्षका रूपमा सन् २०१० मा भारतको ‘मेरा’ मा सम्पन्न विश्व भेलाले पारित गरेको ‘मेरा घोषणापत्र’को समीक्षा गरिनेछ । यो घोषणापत्रलाई पशुपालक महिलाहरूको हक-हित, लैङ्गिक समानता र वातावरण संरक्षणका लागि एक ऐतिहासिक राजनीतिक दस्तावेजका रूपमा लिइन्छ ।

विश्वको झण्डै आधा भूभागको संरक्षण र खाद्य सुरक्षामा पशुपालक महिलाहरूको अहम् भूमिका रहे तापनि उनीहरूको योगदानलाई अझैसम्म उचित कदर नगरिएको विज्ञहरूको ठहर छ । इसिमोडद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार, सुरक्षित भूमि अधिकारको अभाव, जलवायु परिवर्तनको प्रतिकूल असर र नीति निर्माण तहमा न्यून पहुँच जस्ता समस्याहरू पशुपालक महिलाले भोग्दै आएका प्रमुख चुनौती हुन् । यस सम्मेलनले ती आवाजहरूलाई सशक्त बनाउँदै स्थानीयदेखि विश्वस्तरसम्म निर्णय प्रक्रियामा उनीहरूको सहभागिता सुनिश्चित गर्न पहल गर्नेछ ।

चार दिनसम्म चल्ने उक्त कार्यक्रममा सहभागीहरूले भूमि अधिकार, आर्थिक आत्मनिर्भरता, जैविक विविधता संरक्षण, शिक्षा, स्वास्थ्य र जलवायु सहनशीलताका विषयमा गहन छलफल गर्नेछन् । सम्मेलनले पशुपालक महिलाहरूको एक विश्वव्यापी सञ्जाल निर्माण गरी साझा नीतिगत एजेन्डा तय गर्ने लक्ष्य राखेको छ, जसलाई आगामी दिनमा संयुक्त राष्ट्रसङ्घ लगायतका अन्तरराष्ट्रिय मञ्चहरूमा वकालतका लागि प्रस्तुत गरिने आयोजकले जनाएको छ ।