‘नेवा दय् दबु’ भोटेकोशीले ब्युँताउन खाेजेकाे दुर्लभ वास्तुकलासहितकाे लिस्तीकोट भीमसेन मन्दिर
दीपेन्द्र श्रेष्ठ, सिन्धुपाल्चाेक
सिन्धुपाल्चोक, ११ जेठ । सिन्धुपाल्चोकको भोटेकोशीस्थित ऐतिहासिक एवं प्राचीन लिस्तीकोट भीमसेन मन्दिरको इतिहास र यसको महत्त्वलाई पुनरुत्थान गर्न ‘नेवा दय् दबु’ भोटेकोशीले विशेष पहल सुरु गरेको छ।
५ औँ शताब्दीदेखि नै नेपाल–भोट व्यापारिक मार्गको मुख्यस्थलका रूपमा रहेको यस क्षेत्रको भीमसेन मन्दिर अहिले भग्नावशेषमा सीमित भएपछि यसलाई ‘नेवा दय् दबु’ भोटेकोशीले ब्युँताउने प्रयास थालेको हो।
इतिहासविद् र स्थानीय जनश्रुतिअनुसार नेपालमा सत्तलसहितका चारवटा मात्रै प्राचीन भीमसेन मन्दिरहरू रहेका छन्। जसमा भक्तपुरको ‘गय भिन्द्ययो’ (परदेशी भीमसेन), चौतारा पुरानो बजारको भीमसेन, नेपाल–भोट व्यापारिक मार्गमा पर्ने लिस्तीकोट भीमसेन र तिब्बतको ल्हासास्थित नेवार टोलमा रहेको भीमसेन मन्दिर रहेका छन्। यीमध्ये लिस्तीकोटको मन्दिर अहिले संरक्षणको पर्खाइमा छ।
‘नेवा दय् दबु’ भोटेकोशी गाउँपालिकाका अध्यक्ष कर्णबहादुर प्रधानका अनुसार लिस्तीकोट भीमसेनको इतिहास दोलखाको प्रसिद्ध भीमसेन मन्दिरसँग पनि जोडिएको छ। प्राचीन समयमा व्यापारीहरू यहाँ बास बस्ने गर्दथे। किम्वदन्तीअनुसार, एकजना व्यापारीले खाना पकाउने क्रममा पटक–पटक खाना उम्लिएर पोखिएपछि आक्रोशित भएर पन्यूले शिलामा हानेका थिए। सो प्रहारबाट शिला दुई टुक्रा भई माथिल्लो भाग उछिट्टिएर दोलखा पुगेको र त्यो ‘भीमसेनको शिर’ बनेको विश्वास गरिन्छ। शिलाको बाँकी भाग (शरीर) भने लिस्तीकोटमै रहेको स्थानीयको दाबी छ।
यो मन्दिर वास्तुकलाका दृष्टिकोणले पनि निकै विशिष्ट मानिन्छ। मन्दिरको प्रवेशद्वारमा द्वारपालका रूपमा रहेका जोडी सिंहले हात्तीलाई थिचिरहेको दृश्य देख्न सकिन्छ। यस्तो प्रकृतिको दुर्लभ वास्तुकलाका मूर्ति नेपालका अन्य भीमसेन मन्दिरहरूमा प्रायः नपाइने जानकारहरू बताउँछन्।
मल्लकालमा लिस्तीकोट एक स्वायत्त राज्यका रूपमा अस्तित्वमा थियो, जसमाथि कहिले भक्तपुर त कहिले कान्तिपुरले शासन गर्ने गर्दथे। ऐतिहासिक र सामरिक दृष्टिले महत्त्वपूर्ण यस मन्दिरको पुनर्निर्माण हुन सकेमा भोटेकोशी क्षेत्रमा धार्मिक पर्यटनको ठूलो सम्भावना रहेको स्थानीय जनप्रतिनिधी रूपक प्रधान बताउनुहुन्छ । स्थानीय तह र सम्बन्धित निकायले यस प्राचीन सम्पदाको संरक्षणमा ध्यान दिएमा सिन्धुपाल्चोककै गौरव र पहिचान थप सुदृढ हुने उहाँकाे भनाइ छ ।