न्यायको खोजीमा कानुन व्यवसायी : सर्वोच्च अदालत परिसरमा दिउँसै लालटिन बालेर प्रदर्शन

काठमाडौँ, ५ जेठ । सर्वोच्च अदालतमा विकसित पछिल्लो घटनाक्रम र प्रशासनिक अवरोधप्रति कडा असन्तुष्टि जनाउँदै कानुन व्यवसायीहरूले मंगलबार दिउँसै लालटिन बालेर अनौठो विरोध प्रदर्शन गरेका छन्। नेपाल बार एसोसिएसनको नेतृत्वमा भेला भएका व्यवसायीहरूले न्याय र सत्यको प्रतीकात्मक खोजी गर्दै सर्वोच्च परिसरमा प्रदर्शन गरेका हुन्।

बार एसोसिएसनको सोमबार बसेको बैठकले अदालतमा रिट निवेदन दर्ता हुन नसक्ने परिस्थिति निर्माण भएको र न्याय सम्पादनमा प्रशासनिक अड्चन देखिएको निष्कर्ष निकाल्दै लालटिन बाल्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार मंगलबार दिउँसो १ बजे बार कार्यालयको प्राङ्गणमा कानुन व्यवसायीहरूले हात-हातमा लालटिन लिएर प्रदर्शनमा उत्रिएका थिए।

विरोधमा सहभागी कानुन व्यवसायीहरूका अनुसार न्यायलयभित्र न्याय र विवेक हराउँदै गएकाले त्यसको साङ्केतिक खोजीका लागि लालटिन बालिएको हो। विशेषगरी सर्वोच्च प्रशासनले केही महत्त्वपूर्ण रिट निवेदनहरू दर्ता गर्न अस्वीकार गरेको (दरपीठ गरेको) विषयलाई बारले न्यायको मार्गमा अवरोधका रूपमा लिएको छ।

“अदालतमा न्यायको घाँटी निमोठ्न खोजिएको र सत्य ओझेलमा परेकाले हामीले दिउँसै लालटिन बालेर खोजी गर्नुपरेको हो,” प्रदर्शनमा सहभागी एक वरिष्ठ अधिवक्ताले बताए।

पछिल्लो समय प्रस्तावित प्रधानन्यायाधीशको सिफारिस र सर्वोच्च प्रशासनको कार्यशैलीलाई लिएर बार र न्यायलयबीच तनाव बढ्दै गएको छ।