प्रतिनिधि सभाको बैठक आज बस्दै : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा केन्द्रित

काठमाडौँ, जेठ ६ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा निर्धारित कार्यसूची र समसामयिक संसदीय विषयहरूमा छलफल हुनेछ ।

यसअघि मङ्गलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि विस्तृत छलफल भएको थियो। उक्त छलफलका क्रममा सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नहरूको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिनुभएको थियो ।

आगामी बजेटको मार्गचित्रका रूपमा लिइने यस प्रस्तावमाथि गत सोमबारदेखि सदनमा छलफल प्रारम्भ भएको हो । अर्थमन्त्री डा. वाग्लेले गत वैशाख ३१ गतेको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो ।

आजको बैठकमा सदनको नियमित प्रक्रिया र अन्य विधेयकहरूमाथि छलफल हुने कार्यतालिका रहेको छ ।