मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई किन पक्राउ गरेको? २४ घण्टाभित्र कारण खुलाउन सर्वोच्चको आदेश

काठमाडौँ, ६ जेठ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ। न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले आज सो आदेश दिएको हो।

प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै अधिवक्ता आशिष लुइँटेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो। सर्वोच्चले बाटोको म्यादबाहेक सूचना पाएको मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न विपक्षीहरूलाई निर्देशन दिएको छ।

अदालतको आदेशमा भनिएको छ, “आधार र कारणसहित बाटोको म्यादबाहेक सूचना म्याद पाएको मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु।”

सोमबार राति वीरगञ्जबाट पक्राउ परेका प्रसाईंलाई हाल जिल्ला प्रहरी परिसर भक्तपुरको नियन्त्रणमा राखिएको छ। प्रसाईंका तर्फबाट दायर रिटमा उनलाई बिना कारण र प्रक्रिया मिचेर पक्राउ गरिएको भन्दै तत्काल रिहा गर्न माग गरिएको छ। अब सरकारले प्रसाईंलाई कुन कानुनअन्तर्गत र के आधारमा पक्राउ गरिएको हो भन्नेबारे भोलिसम्ममा सर्वोच्चमा जवाफ पठाउनुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *