एमाले सचिवालय बैठक आज: कार्यविभाजन टुङ्ग्याउने तयारी

काठमाडौँ, ८ जेठ । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज (शुक्रबार) बस्दैछ। अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा बिहान ११:३० बजे बस्ने बैठकले पार्टीका नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिने कार्यसूची रहेको छ।

केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीका अनुसार सोमबारको बैठकमा अध्यक्ष ओलीले पेस गरेको कार्यविभाजनको प्रस्तावमाथि आजको बैठकमा छलफल भई निर्णय गरिनेछ। बैठकले टुङ्गो लगाएको जिम्मेवारीलाई छिट्टै ‘अन्तरपार्टी निर्देशन’ (अपानि) मार्फत तल्लो तहसम्म पठाइने तयारी छ।

गत मङ्सिरमा सम्पन्न ११औँ महाधिवेशन र फागुन २१ को निर्वाचनपछि एमालेले नेताहरूको स्थायी कार्यविभाजन गर्न लागेको हो। प्रस्तावित कार्यविभाजनमा प्रभावशाली विभागहरूको कमान्ड नयाँ नेताहरूलाई सुम्पिने तयारी छ। जसअनुसार सचिव भानुभक्त ढकाललाई सङ्गठन विभाग, केन्द्रीय सदस्य शेरबहादुर तामाङलाई स्कुल विभाग, विशाल भट्टराईलाई जनसङ्गठन र डा. सूर्य पाठकलाई प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ।

यस पटकको सचिवालय बैठकलाई केवल कार्यविभाजनका कारणले मात्र नभई पार्टीको आन्तरिक शक्ति सङ्घर्षका दृष्टिकोणले समेत निकै चासोका साथ हेरिएको छ। सोमबारको बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता खुला गर्ने निर्णय गरेकाे थियाे ।

अध्यक्ष ओलीले भने अधिकांश केन्द्रीय सदस्यहरूलाई ‘मिसन स्थानीय चुनाव’ अन्तर्गत गाउँ–गाउँमा खटाउने गरी कार्यविभाजनको प्रस्ताव तयार पारेका छन्।