एमालेले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि बनायाे कार्यदल, नेतृत्वमा ‘बादल’

काठमाडौँ, १० जेठ । नेकपा (एमाले) ले पार्टीको आन्तरिक संरचनामा सुधार र निर्वाचनको गम्भीर समीक्षा गर्न उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा एक उच्चस्तरीय कार्यदल गठन गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा आइतबार बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो।

बैठकले उपाध्यक्ष थापाको संयोजकत्वमा गठित कार्यदललाई निर्वाचनको परिणाम, पार्टीको साङ्गठनिक अवस्था र आगामी कार्यदिशाका सम्बन्धमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिएको छ। कार्यदललाई आफ्नो अध्ययन पूरा गरी प्रतिवेदन बुझाउन एक महिनाको समयसीमा तोकिएको छ।

तीन दिनदेखि जारी एमालेको सचिवालय बैठकले नेताहरूको कार्यविभाजन र अन्य साङ्गठनिक विषयमा समेत घनीभूत छलफल गरिरहेको छ।