नेप्सेमा २७ अङ्कको सुधार, ६ अर्ब नजिकको कारोबारले बजारमा उत्साह

काठमाडौँ, १० जेठ । साताको पहिलो कारोबार दिन सोमबार धितोपत्र बजारमा उल्लेख्य सुधार देखिएको छ । अघिल्लो सातादेखि सुरु भएको वृद्धिको लयलाई निरन्तरता दिँदै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २७.८५ अङ्कले बढेर २७८६.३५ विन्दुमा पुगेको छ ।

नेप्सेमा देखिएको सुधारसँगै आज सेन्सेटिभ इण्डेक्स ३.८५ अङ्क, फ्लोट इण्डेक्स १.८३ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२९ अङ्कले बढेको छ ।

परिसूचकसँगै आज कारोबार रकममा पनि ठूलो उछाल आएको छ । गत शुक्रबार ४ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएकोमा आज ३४२ कम्पनीको ७५ हजार ८५६ पटकको कारोबारमा ५ अर्ब ९८ करोड ६४ लाख १२ हजार रुपैयाँ बराबरको १ करोड ४५ लाख ४० हजार कित्ता शेयर खरिद–बिक्री भएको छ ।

आजको बजारमा जलविद्युत् क्षेत्रका लगानीकर्ताहरूले राम्रो मुनाफा कमाएका छन् । थ्रीस्टार हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.०१ प्रतिशतले बढेको छ । यस्तै, सुपर खुदी हाइड्रोपावरको ८.५ प्रतिशत तथा अप्पर हेवाखोला र माया खोला हाइड्रोपावरको शेयरमूल्य करिब साढे ५ प्रतिशतले वृद्धि भएको छ । यता, बुङ्गल हाइड्रोका लगानीकर्ताले भने सबैभन्दा धेरै १०.३२ प्रतिशतले गुमाएका छन् ।

कारोबार रकमका आधारमा आज आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको मात्रै ६० करोड २० लाख १४ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । यस्तै, रिडी पावरको ३० करोड १७ लाख र अपि पावरको १८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आज कारोबार भएका १३ उपसमूहमध्ये १२ वटाको परिसूचक बढेर बन्द भएको छ भने म्युचुअल फण्ड उपसमूह मात्र सामान्य घटेको छ । जलविद्युत् उपसमूह सर्वाधिक १.५० प्रतिशतले बढ्दा होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।

लामो समयको अन्योलपछि बजारले वृद्धिको दिशा समातेसँगै लगानीकर्ताहरूमा नयाँ उत्साह देखिएको छ ।