बागमती प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौँ, जेठ १३ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आइतबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सरकारको प्राथमिकता र लक्ष्यहरू समेटिएको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

 सुशासन र उत्पादनमा जोड : आगामी वर्ष सुशासन, सेवा प्रवाहमा सुधार, उत्पादन वृद्धि, नवप्रवर्तन, रोजगारी सिर्जना र सामाजिक न्यायलाई मुख्य प्राथमिकतामा राखिएको छ । सार्वजनिक प्रशासनलाई नतिजामुखी र पारदर्शी बनाउँदै शासन प्रणालीको मूल आधारका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको छ ।

पूर्वाधार र विकास व्यवस्थापन : आयोजना छनोटका मापदण्ड, बहुवर्षीय आयोजनाको व्यवस्थापन र आयोजना बैंकिङसम्बन्धी कानुनी व्यवस्थालाई एकीकृत गरिने उल्लेख छ । प्रदेशका गौरवका आयोजनाहरूको नियमित अनुगमन र नियमन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रत्यक्ष रूपमा गरिनेछ ।

गाँजा खेतीको कानुनी व्यवस्था : प्रदेशका विभिन्न जिल्लामा औषधि तथा औद्योगिक कच्चा पदार्थका रूपमा व्यावसायिक गाँजा खेतीलाई व्यवस्थित गर्न आवश्यक कानुनी प्रबन्ध मिलाइने नीति लिइएको छ ।

सामाजिक विकास र लक्षित वर्ग : सीमान्तकृत समुदाय (चेपाङ, बोटे, माझी, थामी, जिरेल, सुरेल, पहरी, बनकरिया आदि) को उत्थानका लागि ‘एकीकृत विकास कार्यक्रम’ र ‘जनता आवास कार्यक्रम’ लाई निरन्तरता दिइनेछ ।

खानेपानी र यातायात : ‘एक घर एक धारा’ कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै नागरिकको गुणस्तरीय खानेपानीमा पहुँच सुनिश्चित गरिनेछ। साथै, यातायात कार्यालयका सेवाहरूलाई एकीकृत डिजिटल प्रणालीमार्फत सरल र पारदर्शी बनाइने घोषणा गरिएको छ ।

विपत् व्यवस्थापन र सुरक्षा : ‘विपत् पूर्वतयारीमा लगानी, धनजनको न्यून नोक्सानी’ भन्ने अवधारणा अनुरूप विपत् व्यवस्थापनलाई सुदृढ गरिने र सुरक्षा निकाय तथा स्थानीय तहबीचको सहकार्यलाई प्रभावकारी बनाइनेछ ।

संसदीय प्रक्रिया र धन्यवाद प्रस्ताव :
प्रदेश प्रमुखद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथि प्रदेशसभा सदस्य पुकार महर्जनले धन्यवादको प्रस्ताव पेस गर्नुभएको थियो भने सदस्य एकलाल श्रेष्ठले उक्त प्रस्तावको समर्थन गर्नुभएको थियो। बैठकले उक्त धन्यवाद प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

यसअघि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नीति तथा कार्यक्रमको प्रति सभासमक्ष टेबुल गर्नुभएको थियो ।

समिति सदस्यहरूको मनोनयन
बैठकमा उपसभामुख अप्सरा चापागाईंले सार्वजनिक लेखा समितिको सदस्यमा भुवनकुमार पाठक र विशेष समितिको सदस्यमा उर्मिला सुनुवारको नाम प्रस्ताव गर्नुभएकामा सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ ।

प्रदेशसभाको अर्को बैठक आगामी जेठ १८ गते दिउँसो १:०० बजे बस्ने गरी स्थगित भएको छ ।