फोहरलाई मोहर बनाउन तीन नगरपालिकाको ऐतिहासिक सहकार्य: ‘संयुक्त नीति २०८३’मा हस्ताक्षर
काठमाडौँ, १२ जेठ । काठमाडौँ उपत्यकाका तीन छिमेकी नगरपालिकाहरूले फोहरमैलाको दिगो व्यवस्थापन र ‘चक्रीय अर्थतन्त्र’ प्रवर्द्धनका लागि संयुक्त पहल सुरु गरेका छन्। शङ्खरापुर, कागेश्वरी मनोहरा र चाँगुनारायण नगरपालिकाले मंगलबार ‘फोहरमैला व्यवस्थापन तथा चक्रीय अर्थव्यवस्थामा संयुक्त समन्वय व्यवस्थापन सम्बन्धी प्रारुप, २०८३’ लाई औपचारिक रूपमा अनुमोदन गरेका हुन्।
काठमाडौँस्थित होटल याक एण्ड यतीमा आयोजित एक विशेष कार्यशालाका बीच तीनै पालिकाका प्रमुखहरूले सो संयुक्त नीतिमा हस्ताक्षर गरेका छन्। रोयल नर्वेजियन दूतावास र यूएनडीपी (UNDP) को प्राविधिक सहयोगमा सञ्चालित यो परियोजनाले अन्तर–नगरपालिका सहकार्यको नयाँ नमुना पेस गरेको छ।
स्वीकृत नीतिअनुसार अब तीनवटै नगरपालिकाले फोहरलाई केवल विसर्जन गर्ने वस्तुका रूपमा नभई ‘कच्चा पदार्थ’ का रूपमा विकास गर्नेछन्। स्रोतमा नै फोहरको वर्गीकरण (जैविक, अजैविक र हानिकारक) लाई अनिवार्य बनाइनेछ। सङ्कलित जैविक फोहरबाट कम्पोष्ट मल, वायोग्यास र ऊर्जा उत्पादन गर्ने लक्ष्य राखिएको छ भने पुनर्चक्रणयोग्य वस्तुहरूलाई प्रशोधन गरी राजस्व वृद्धिमा जोड दिइनेछ।
कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सांसद आशिष गजुरेलले यो सहकार्यले सङ्घीयताको मर्म अनुसार स्थानीय तहहरू मिलेर ठूला समस्या समाधान गर्न सक्छन् भन्ने प्रमाणित गरेको बताउनुभयो। उहाँले सरकार पुराना र बाधक नीतिहरू खारेज गर्ने क्रममा रहेको जानकारी दिँदै यो अभियानलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। “हाम्रो मुख्य लक्ष्य ल्याण्डफिल साइटमा कमभन्दा कम फोहर पठाउने हुनुपर्छ,” सांसद गजुरेलले भन्नुभयो, “विशेषगरी विद्युतीय सवारी (EV) को प्रयोग बढ्दै जाँदा तिनका ब्याट्रीहरू जथाभाबी विसर्जन गर्दा ठूलो वातावरणीय चुनौती थपिन सक्छ, यसतर्फ सजग हुनुपर्छ।”
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले यो सम्झौता कोशेढुङ्गा सावित हुने बताउनुभयो। उहाँले भन्नुभयो, “हामी तीन नगरपालिका मात्र होइन, उपत्यकाका १८ वटै नगरपालिका यसरी नै आवद्ध भएर काम गर्ने हो भने फोहर व्यवस्थापनमा देशकै नमुना बन्न सक्छौँ।”
कागेश्वरी मनोहराका प्रमुख उपेन्द्र कार्कीले फोहर व्यवस्थापनलाई समस्या मात्र नभई अवसरको रूपमा लिनुपर्नेमा जोड दिनुभयो। “हामीले प्रविधिको प्रयोग नगरी फोहर व्यवस्थापन गर्न सक्दैनौँ,” उहाँले भन्नुभयो, “ठूलो बजेट खर्चिएर मात्र हुँदैन, दिगोपनका लागि सही प्रविधि र जनसहभागिता अनिवार्य छ।” शङ्खरापुरका प्रमुख रमेश नापितले फोहर व्यवस्थापनको चुनौतीलाई सामूहिक प्रयासबाट आम्दानी र रोजगारीको अवसरमा बदल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यूएनडीपी नेपालका पोर्टफोलियो म्यानेजर प्रज्ञाजन यलम्बर राई र ‘ब्लू वेस्ट टु भ्यालु’ का सिइओ नवीन विकास महर्जनले यो परियोजनाले नेपालका अन्य नगरपालिकाहरूका लागि पनि नयाँ मार्गचित्र कोर्ने विश्वास व्यक्त गर्नुभयो। यो संयुक्त नीति कार्यान्वयनमा आएसँगै उपत्यकाको पूर्वी क्षेत्रमा सरसफाइको स्तरमा सुधार आउनुका साथै वातावरण संरक्षणमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ।
यो संयुक्त नीति कार्यान्वयनमा आएसँगै काठमाडौँको पूर्वी क्षेत्रका यी तीन नगरपालिकामा सरसफाइको स्तरमा सुधार आउनुका साथै वातावरण संरक्षण र रोजगारी सिर्जनामा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।