कोशी प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित, विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय बनाउने मुख्यमन्त्रीको घोषणा

विराटनगर, १२ जेठ । कोशी प्रदेशसभाले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ। मंगलबार बसेको प्रदेशसभा बैठकमा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा प्रतिपक्षी दलका सांसदहरूले समेत विरोध नजनाएपछि नीति तथा कार्यक्रम पारित भएको हो।

यसअघि प्रदेश प्रमुख परशुराम खापुङ्गले गत जेठ ७ गते प्रदेश सरकारको तर्फबाट यो नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्नुभएको थियो। तीन दिनसम्म चलेको छलफलमा कुल ३६ जना प्रदेशसभा सदस्यहरूले भाग लिएका थिए।

छलफलमा उठेका जिज्ञासाहरूको जवाफ दिँदै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार सुशासन र गुणस्तरीय सेवा प्रवाहमा दत्तचित्त भएर लागेको बताउनुभयो। उहाँले नीति तथा कार्यक्रमलाई मेहनतका साथ परिमार्जन गरी ल्याइएको दाबी गर्दै यसलाई ‘प्रदेश सरकारको साझा सम्पत्ति’ को रूपमा चित्रण गर्नुभयो।

सम्बोधनका क्रममा मुख्यमन्त्री कार्कीले विराटनगर विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न संघीय सरकारसँग प्रभावकारी समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले प्रदेशमा बढ्दो बसाइँसराइ रोक्न ‘साना सहर’ कार्यक्रम ल्याइएको र लागूऔषध नियन्त्रण तथा विपद् व्यवस्थापनमा सरकारले कठोर कदम चाल्ने बताउनुभयो।

पूर्वाधार विकासका सम्बन्धमा बोल्दै उहाँले सुनसरीको इनरुवा र दुहबी सडकलाई कम्तीमा दुई लेनको बनाउने सोच अघि सारिएको जानकारी दिनुभयो।

नीति तथा कार्यक्रम पारित भएलगत्तै प्रतिपक्षी दलका सांसदहरूले संशोधनका लागि पर्याप्त समय नदिइएको भन्दै विरोध जनाएका थिए। विपक्षीको लगातारको नाराबाजी र अवरोधका कारण मंगलबारको कार्यसूचीमा रहेको ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता’ (प्रिबजेट) माथिको छलफल प्रभावित भएको छ।

सदनमा उत्पन्न गतिरोधपछि सभामुख विष्टले बैठक बुधबार बिहान ११:०० बजे बस्ने गरी स्थगित गर्नुभएको छ। अब भोलिको बैठकमा प्रि–बजेटमाथिको छलफल अघि बढ्ने संसद् सचिवालयले जनाएको छ।