नेपाल प्रेस युनियनको ३५औँ स्थापना दिवस आज विधान महाधिवेशन हुँदै
काठमाडौँ, १३ जेठ । नेपालका लोकतन्त्रवादी पत्रकारहरूको साझा संस्था नेपाल प्रेस युनियनले आज देशभर विभिन्न कार्यक्रम गरी आफ्नो ३५औँ स्थापना दिवस मनाउँदैछ। यसै अवसरमा युनियनको केन्द्रीय समितिले काठमाडौँमा विशेष ‘विधान महाधिवेशन’ समेत आयोजना गरेको छ।
स्थापना दिवसको पूर्वसन्ध्यामा आज बिहान ७ बजे काठमाडौँको माइतीघर मण्डलामा विशेष प्रभातफेरी (र्याली) आयोजना गरिएको छ। त्यसलगत्तै बिहान ९ बजेदेखि बस्ने विधान महाधिवेशनको औपचारिक उद्घाटन मुलुकका प्रथम राष्ट्रपति डा. रामवरण यादवले गर्ने कार्यक्रम तय भएको युनियनका अध्यक्ष शिव लम्सालले जानकारी दिनुभयो।
विधान महाधिवेशनमा सहभागी हुन देशका ७७ वटै जिल्ला शाखा तथा विदेशस्थित शाखाहरूबाट अध्यक्ष, सचिव, कोषाध्यक्ष र तोकिएका प्रतिनिधिहरू काठमाडौँ आइपुगेका छन्। युनियनका उपाध्यक्ष जीवन भण्डारीका अनुसार संस्थाको विधानलाई समयसापेक्ष परिमार्जन गरी साङ्गठनिक सुदृढीकरणका लागि यो महाधिवेशन महत्त्वपूर्ण सावित हुनेछ।
वि.सं. २०४८ साल जेठ १३ गते श्रमजीवी पत्रकारहरूको हकहित संरक्षणका लागि सुरु भएको ट्रेड युनियन आन्दोलनको जगमा नेपाल प्रेस युनियनको स्थापना भएको थियो। नेपालका सञ्चारकर्मीलाई सङ्गठित गरी प्रेस स्वतन्त्रता र व्यावसायिक सुरक्षाका लागि वकालत गर्दै आएको युनियन अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (IFJ) को नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था पनि हो।
युनियनको पहिलो तदर्थ समितिको संयोजक तत्कालीन पत्रकार एवं पूर्वमन्त्री जेपी गुप्ता हुनुहुन्थ्यो। यस संस्थाको नेतृत्व विभिन्न समयमा हरि अधिकारी, रमेश तुफान, तारा बराल, कुलचन्द्र वाग्ले, मुरारीकुमार शर्मा, समीरजङ्ग शाह, किरण पोखरेल र बद्री सिग्देलले सम्हालिसक्नुभएको छ। हाल शिव लम्सालले यसको नेतृत्व गरिरहनुभएको छ।
युनियनका महासचिव दिलीप पौडेलले प्रेस युनियनले सधैँ श्रमजीवी पत्रकारको अधिकार, लोकतन्त्रको रक्षा र मिडियामैत्री कानुन निर्माणका लागि नेतृत्वदायी भूमिका खेल्दै आएको बताउनुभयो। आजको विधान महाधिवेशनले पत्रकारहरूको हकहित र बदलिँदो सञ्चार जगतका चुनौतीहरूलाई सम्बोधन गर्ने गरी नयाँ कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।