खानेपानी सम्बद्ध निकायहरू गाभिने, पाँच वर्षभित्र शतप्रतिशत नागरिकलाई स्वच्छ खानेपानी

काठमाडौँ, १५ जेठ । सरकारले खानेपानी तथा सरसफाइ क्षेत्रतर्फ सरकारले आगामी पाँच वर्षभित्र ‘स्मार्ट वितरण प्रणाली’ मार्फत २४सै घण्टा स्वच्छ पिउने पानी सुनिश्चित गर्ने योजना अघि सारेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सङ्घीय संसद्मा प्रस्तुत गर्दै आगामी तीन वर्षभित्र ६५ प्रतिशत र पाँच वर्षभित्र शतप्रतिशत नागरिकलाई सुरक्षित एवं स्वच्छ खानेपानी सेवा उपलब्ध गराइने लक्ष्य राखिएको जानकारी दिनुभयो।

नयाँ बजेट वक्तव्य अनुसार काठमाडौँ उपत्यकाको खानेपानी व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन प्रशासनिक निकायहरूको पुनर्संरचना गरिने भएको छ। बजेट भाषण अनुसार काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल), आयोजना कार्यान्वयन निर्देशनालय र खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोगलाई गाभेर एउटै शक्तिशाली एकीकृत संरचना बनाइने घोषणा गरिएको छ।