फेरिएको प्रधानमन्त्री बालेन साहको बोलीः पहिला ग्रेटर नेपाल हाम्रो भन्ने साहले अहिले भारतको भूमि नेपालले मिचेको किन भने ?
गकाठमाडौं, १७ जेठ । विपक्षीहरूले संसदमा उपस्थित भएर प्रधानमन्त्री बालेन साहले जवाफ दिनुपर्ने भन्दै लगातार प्रश्न उठाइरहेका बेला आज प्रधानमन्त्री साह संसद पुग्नुभयो ।
भूमिगत शैलीमा संसद पुग्नु भएका साहले सभामुखसँग समय माग्दै हात उठाउनुभयो ।
सभामुख डोलप्रसाद अर्यालले पनि केहीबेर सल्लाह गरेर प्रधानमन्त्री साहलाई बोल्ने समय दिनुभयो । तर, हत्तपत्त नवोल्ने प्रधानमन्त्री साहले जवाफ दिने क्रममा आफूलाई विवादमा तान्नुभएको छ ।
काठमाडौं महानगरपालिकाको मेयर रहेका बेला आफ्नो खाली कुर्सीको अघि ग्रेटर नेपालको नक्शा राखेर आम नेपालीको ध्यान खिच्नु भएका साहले आज भने अनौठो खालको जवाफ दिनुभएको छ । कुनै बेला साह काठमाडौं महानगरपालिकाको मेयर रहेका बेला तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणका क्रममा ‘लिपुलेकबारे पनि प्रष्ट धारणा राखेर आउनु है भनेर’ व्यङ्ग्य गर्नुभएको थियो । तर, उहाँ नै अहिले प्रधानमन्त्री भएपछि भने भारतले मिचेको भूमि फिर्ता ल्याउने कुरामा बहस गर्ने भन्दा पनि बहसलाई अन्तै मोड्ने गरी भारतको समेत भूमि नेपालले मिचेको भन्दै संसदको रोष्टममा उँभिएर विवादास्पद कुरा राख्नु भएको छ ।
प्रधानमन्त्री बालेन्द्र साहले भारतले नेपालको जमिन मिचेको मात्र नभएर नेपालले पनि भारतको जमिन मिचेको दावी गर्नुभयो । सांसद पद्मा अर्यालले लिपुलेकबारे गरेको प्रश्नको जवाफ दिदैँ प्रधानमन्त्री साहले भन्नुभयो–‘तपाईंहरूलाई सुन्दा अचम्म लाग्ला, मैले पनि भर्खरै थाहा पाएँ । भारतले मात्र नभएर नेपालले पनि भारतको जग्गा मिचेको रहेछ । हामी टेबल टकमा बसेर एकअर्काको जमिन मिचिएको विषयमा छलफल गर्नेछौं ।’ उहाँले कहाँ कहाँ नेपालले सीमा मिचेको छ भन्ने चाहिँ खुलाउनु भएन । नेपालका कुनै पनि प्रधानमन्त्रीले आफ्नो देशले छिमेकी देशको सीमा मिचेको अभिव्यक्ति दिएका थिएनन् ।