प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भनेपछि बुद्धिनारायणको जवाफः ‘यसले भौगोलिक अखण्डतालाई प्रतिकुल असर गर्छ’
काठमाडौं, १७ जेठ । सीमाविद् वुद्धिनारायण श्रेष्ठले प्रधानमन्त्री बालेन्द्र साहले आज संसदको रोष्टममा उँभिएर नेपालले भारतको भूमि मिचेको छ भनेर दिएको अभिव्यक्तिको खण्डन गर्नुभएको छ । उहाँको भनाई जस्ताको तस्तै
नेपालले भारतको जग्गा मिचेको छैन, अतिक्रमण गरेको छैन। सोह्रै आना ठिक कुरो यहि हो । तर, हाम्रो प्रधानमन्त्रीले नेपालले पनि भारतको जमिन मिच्यो भनेर भनेको कुरामाचाँहि सार्थकता छैन । सीमावर्ती क्षेत्रमा, कुनै जिल्लामा अन्तर सीमा सीमानाकाका केही स्थानमा जोत कमोद दख्खल गरिएको छ । अग्रेजीमा यसलाई क्रस होल्डिङ अकुपेसन भन्छ । सीमापार जोत कमोद तथा दख्खल भनेको भारतीयहरुले सीमा पार गरेर नेपालीहरुको जमिन भोगचलन पनि गरेका छन् । केही नेपालीहरुले पनि सीमापार गरेर भारतीयहरुको जमिन पनि दख्खल गरेका छन् । नेपाली किसानले भारतीय किसानको आवादी जमिनमा दख्खल पुर्याएको र भारतीय किसानले नेपाली किसानको आवादी जमिनमा दख्खल पु–याएको कुरालाई सीमा मिचेको भन्न मिल्दैन ।
उदाहरणका लागि नेपालको पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका क्षेत्रको सिर्सिया नदीलाई लिन सकिन्छ। त्यो नदी सुगौली सन्धि भएका बेलामा मोटामोटी सोझो तरिकाले बगेको थियो । ठूलो बाढी आउँदा कालान्तरमा त्यो नदीले धार परिवर्तन गरी घुमौरो रूपमा बग्न थाल्यो। अझ बुझ्ने भाषामा भन्ने हो भने बाङ्गोटिङ्गो गरेर सर्पाकार रूपमा बग्न थाल्यो । त्यो सर्पाकारमा बग्दा केही नेपालीहरूले भोगचलन गर्दै आएको दुई–चार कठ्ठा जमिन भारतीयहरूले दख्खल गरे ।
भारतीयहरूको पनि केही जमिन नेपालतिर परेपछि नेपालीहरूले दख्खल गरे। यो घुमौरो अतिक्रमण होइन यो सीमापार जोत कमोद तथा दख्खल मात्रै हो । यसको कारण पहिले नदी सिधा बग्नु र पछि धार परिवर्तन भएर सर्पाकार बन्नु हो। त्यसपछि सिर्सिया नदीलाई नै सीमाना मानियो। यही कारण क्रस होल्डिङ अकुपेसन भएको हो। अब, यस्लाई हाम्रो देशका प्रधानमन्त्रीले किन नेपालले भारतको भूमि मिच्यो भन्नुभयो ? उहाँले भनेको कुरा तथ्यका आधारमा हेर्ने हो भने होइन । प्रधानमन्त्रीले बोलेको कुरा त देशले बोलेको कुरा हो । त्यसैले नेपालीले भारतको कुन जिल्लाको ? कुन बस्ती मिचेको छ ? कति क्षेत्रफल मिचेको छ ? भनेर हाम्रो देशको प्रधानमन्त्रीले भन्नुपर्छ ।
नेपालले भारतलाई पटकपटक ‘हाम्रो दार्चुला जिल्लाको व्यास पालिकाको वडा नम्बर–१ को कालापानी क्षेत्र लिम्पियाधुरा, कालापानी र सुस्ताको ३ सय ७२ किलोमिटर मिचेको छ’ भनेर प्रष्टसँग भनेको छ । हाम्रो देशको प्रधानमन्त्रीले पनि अब भारतको कुन भाग मिचिएको छ ? भन्नसक्नुपर्छ । अर्को कुरा कुनै पनि राष्ट्रको प्रधानमन्त्रीले ‘हामीले पनि हाम्रो छिमेकी देशको जमिन मिचेका छौँ’ भनेर कहिल्यै भनेको इतिहास छैन । कुटनीतिक हिसावले पनि यो भनेको थाहा छैन । तर, हाम्रो देशको प्रधानमन्त्रीले यसरी भन्नु भनेको पहिले कहिल्यै नभएको र कसैले नभनेको कुरा हो । कुनै पनि देशको प्रधानमन्त्रीले यस्तो कुरा भन्दैन । मलाई लाग्छ, हाम्रो देशको प्रधानमन्त्रीको सीमाको विषयमा अध्ययन पुगेन ।
यसले हाम्रो भौगोलिक अखण्डतालाई प्रतिकुल असर पारेको देखिन्छ । देशको सार्भभौमिकता, स्वतन्त्रतामा पनि यसले प्रतिकुल असर पार्ने देखिन्छ ।