नविन्द्रराज जोशी स्मृति फिडे वुद्धिचाल प्रतियोगिता सम्पन्न: राजेन्द्र बज्राचार्यले जिते उपाधि
काठमाडौँ, जेठ १६ । काठमाडौँ महानगरपालिका वडा नं. २४ द्वारा आयोजित ‘नविन्द्रराज जोशी स्मृति तेस्रो फिडे ¥यापिड (१९०० मुनि) चेस टुर्नामेन्ट’ को उपाधि काठमाडौँका राजेन्द्र बज्राचार्यले हात पार्नुभएको छ । ९ चरणमा सञ्चालित खेलमा कुल ८ अङ्क बटुल्दै उहाँ प्रतियोगिताको प्रथम बन्न सफल हुनुभएको हो ।
धर्मपथस्थित सांस्कृतिक द्यः छेँमा जेठ १५ र १६ गते आयोजित प्रतियोगितामा रुकुमका मिलन रोकाले समान ८ अङ्क प्राप्त गरे पनि टाइब्रेकका आधारमा दोस्रो स्थान हासिल गर्नुभयो । त्यसैगरी, मोरङका उमेश राई तेस्रो हुनुभयो । प्रतियोगिताको उत्कृष्ट १० भित्र क्रमशः सन्तोष गौतम (चितवन), महेन्द्रकुमार साम्बाहाम्फे (पाँचथर), जनार्दन श्रेष्ठ (काठमाडौँ), योगेश श्रेष्ठ (काभ्रे), रमेश वीर माली (काठमाडौँ), डा. सुशन गौतम (झापा) र कविन्द्र शिवाकोटी (दोलखा) पर्न सफल हुनुभएको छ ।
महिलातर्फको नतिजा
महिला विधामा ५.५ अङ्कका साथ चितवनकी पूर्णिमा गुरुङ उत्कृष्ट खेलाडी घोषित हुनुभयो । खोटाङकी कुसुम घिसिङ दोस्रो र काठमाडौँकी पञ्च्या बोलल्चा तेस्रो उत्कृष्ट महिला खेलाडी बन्नुभयो ।
पुरस्कार वितरण
समापन समारोहका प्रमुख अतिथि एवं वडा नं. २४ का अध्यक्ष विनोद कुमार राजभण्डारीले विजयी खेलाडीहरूलाई नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गर्नुभयो । प्रतियोगिताको पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थान प्राप्त गर्नेले क्रमशः ३० हजार, २० हजार, १५ हजार, १० हजार र ८ हजार रुपैयाँ प्राप्त गरे । छैटौँदेखि दशौँ स्थानसम्मका खेलाडीलाई जनही ६ हजार रुपैयाँ प्रदान गरियो ।
यस्तै, प्रत्येक प्रदेशबाट एक-एक जना उत्कृष्ट खेलाडीलाई ५-५ हजार रुपैयाँसहित सम्मान गरियो । वडा र महानगरभित्रका स्थानीय खेलाडीहरूलाई समेत विशेष सम्मान प्रदान गरिएको थियो ।
अन्तर्राष्ट्रिय सहभागिता र समावेशिता
प्रतियोगितामा नेपालका ४८ जिल्लाका २१५ र भारत, अमेरिका, बेलायत तथा फ्रान्सका ११ गरी कुल ५ देशका २२६ खेलाडीको सहभागिता थियो । सहभागीमध्ये ६४ जना अनरेटेड खेलाडी थिए । ९ वर्षका बालक सुवाङ्ग प्रधानदेखि ८० वर्षका वृद्ध सीताराम अग्रवालसम्मले एउटै मञ्चमा प्रतिस्पर्धा गरेका थिए ।
विश्व वुद्धिचाल महासङ्घ, एसियन चेस फेडरेसन र नेपाल चेस फेडरेसनको सहकार्यमा स्वीस लिग प्रणाली अनुसार खेल सञ्चालन गरिएको थियो । प्रमुख निर्णायक (इन्टरनेशनल आर्बिटर) ज्ञानेन्द्र खाइजुका अनुसार हरेक जितका लागि १ र बराबरीका लागि ०.५ अङ्क प्रदान गरिएको थियो ।
समापनका अवसरमा वडाध्यक्ष राजभण्डारीले स्थानीय खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव प्रदान गर्न र सामाजिक-सांस्कृतिक पक्षको प्रवर्द्धन गर्न यस प्रतियोगितालाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।