साफ महिला च्याम्पियनसिप : श्रीलङ्कालाई हराउँदै नेपाल समूह विजेताका रूपमा सेमिफाइनलमा
काठमाडौँ, जेठ १७ । भारतको गोवामा जारी साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले श्रीलङ्कालाई पराजित गर्दै समूह विजेताको रूपमा सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । शुक्रबार गोवास्थित पण्डित जवाहरलाल नेहरू रङ्गशालामा सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कामाथि २-० गोलको सहज जित निकालेको हो ।
प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले आफ्ना दुवै खेलमा जित निकाल्दै स्पष्ट ६ अङ्क जोडेर शीर्ष स्थान हासिल गरेको छ । यसअघि भएको आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई १–० गोल अन्तरले पराजित गरेको थियो । नेपालसँगको हारसँगै श्रीलङ्का भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ। यस समूहबाट भुटान ३ अङ्कसहित उपविजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपालको जितमा रश्मिकुमारी घिसिङ र रेनुका नगरकोटीले एक–एक गोलको योगदान दिए। खेलको पहिलो हाफको अतिरिक्त समय (इन्जुरी टाइम) मा रेखा पौडेलले दिएको पासलाई सदुपयोग गर्दै रश्मिले गोल गरी टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । त्यसैगरी, खेलको ६०औँ मिनेटमा रेनुका नगरकोटीले पेनाल्टी एरिया बाहिरबाट प्रहार गरेको उत्कृष्ट बलले जाली चुमेपछि नेपालको जित सुनिश्चित भएको थियो ।
अब नेपालले सेमिफाइनलमा अर्को समूहको उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ। शतप्रतिशत नतिजासहित अन्तिम चारमा पुगेको नेपाली टोली उच्च मनोबलका साथ मैदान उत्रने देखिएको छ ।