च्याम्पियन्स लिगमा पीएसजीको जितपछि फ्रान्समा हिंसा: ४०० भन्दा बढी पक्राउ
पेरिस, फ्रान्स, , १७ जेठ । युरोपेली च्याम्पियन्स लिगको फाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आर्सनलमाथि ऐतिहासिक जित निकालेपछि फ्रान्सका विभिन्न सहरहरूमा हिंसात्मक झडप भएको छ। जितको खुसी मनाउन सडकमा उत्रिएका समर्थक र प्रहरीबीच झडप हुँदा देशभरबाट ४१६ जनालाई पक्राउ गरिएको छ।
फ्रान्सेली गृह मन्त्रालयका अनुसार राजधानी पेरिसबाट मात्रै २८३ जनालाई नियन्त्रणमा लिइएको छ। हंगेरीको राजधानी बुडापेस्टमा भएको रोमान्चक पेनाल्टी सुटआउटमा आर्सनललाई पराजित गर्दै पीएसजीले उपाधि उचालेपछि हजारौँ समर्थक पेरिसको सडकमा ओर्लिएका थिए।
सुरक्षा व्यवस्था कडा, तैपनि हिंसा
गत वर्षको खेलपछि भएको अशान्तिलाई ध्यानमा राख्दै यसपटक फ्रान्सभर २२,००० प्रहरी परिचालन गरिएको थियो, जसमा ८,००० प्रहरी पेरिसमा मात्रै खटाइएको थियो। हिंसा भड्किने डरले पेरिसका ट्राम, मेट्रो र बस सेवाहरू समेत बन्द गरिएका थिए।
आन्तरिक मामिला मन्त्री लरेन्ट नुनेजले झडपमा सात जना प्रहरी अधिकारी घाइते भएको जानकारी दिएका छन्। उनले यस प्रकारको हिंसालाई “पूर्णतया अस्वीकार्य” भनेका छन्। उपद्रवीहरूले ६ वटा सवारी साधन र दुईवटा पसलमा तोडफोड गरेका छन्।
मैदानबाहिर तनाव
पीएसजीको घरेलु मैदान ‘पार्क डे प्रिन्स’ बाहिर जम्मा भएका करिब ५,००० मानिसले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेका थिए। रंगशालाभित्र छिर्न खोज्ने १५० जनाको समूहलाई प्रहरीले बल प्रयोग गरी रोकेको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै केही स्थानमा लाठीचार्ज समेत गरेको थियो।
पेरिसको प्रसिद्ध चाम्स-एलिसेज क्षेत्रमा करिब २०,००० मानिस जम्मा भएका थिए। त्यहाँ हुल्याहाहरूले बस बिसौनी तोडफोड गर्नुका साथै आतिशबाजी गरेका थिए। सम्भावित लुटपाटबाट बच्न धेरै पसलहरूले पहिले नै झ्यालढोकामा काठका फल्याकहरू लगाएर सुरक्षा अपनाएका थिए।
राजनीतिक प्रतिक्रिया
यस घटनालाई लिएर फ्रान्समा राजनीतिक बहस समेत सुरु भएको छ। दक्षिणपन्थी नेतृ मरिन ले पेनले सामाजिक सञ्जाल एक्स (X) मा लेख्दै सरकारको आलोचना गरेकी छिन्। उनले भनिन्, “फुटबल क्लबको जितमा दंगा हुने देश फ्रान्स मात्रै हो। यहाँ उत्सवको साँझ पनि मानिसहरू हिंसाको डरले घरभित्रै थुनिन बाध्य छन्।”
विजयी उत्सवको तयारी
हिंसात्मक घटनाका बाबजुद पीएसजीका खेलाडीहरूले आइतबार दिउँसो पेरिसको आइफिल टावर अगाडि परेड गर्ने कार्यक्रम छ। उक्त परेडमा १ लाखभन्दा बढी समर्थक सहभागी हुने अनुमान गरिएको छ। त्यसपछि राष्ट्रपति इमानुएल म्याक्रोनले विजयी टोलीलाई एलिसी प्यालेसमा स्वागत गर्ने तालिका रहेको छ।