‘प्रधानमन्त्रीले नेपालको प्रतिनिधित्व गर्छन् कि अरू कसैको ?’ : एमाले महासचिव पोखरेलको गम्भीर प्रश्न

काठमाडौँ, १७ जेठ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संसद्मा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै उहाँको भूमिकामाथि नै गम्भीर प्रश्न उठाउनुभएको छ। प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा सीमासम्बन्धी विषयमा दिएको धारणाले राष्ट्रिय हित र कूटनीतिक संवेदनशीलतामा आँच पुर्‍याएको पोखरेलको ठहर छ।

एमाले महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति अस्वाभाविक र शङ्कास्पद रहेको टिप्पणी गर्नुभएको हो। उहाँले लेख्नुभएको छ, “बालेन्द्र शाहले आज संसद्मा दिएको अभिव्यक्तिले उनले नेपाल राष्ट्रको प्रतिनिधित्व गर्छन् कि अरू कसैको भन्ने गम्भीर प्रश्न खडा भएको छ।”

प्रधानमन्त्री शाहले आज संसद्मा सीमा सुरक्षा र छिमेकी देशहरूसँगको सम्बन्धका विषयमा लामो सम्बोधन गर्नुभएको थियो। सोही सम्बोधनका क्रममा प्रयोग भएका कतिपय शब्द र दृष्टिकोणलाई लिएर महासचिव पोखरेलले प्रधानमन्त्रीको नियत र कूटनीतिक चातुर्यतामाथि प्रश्न उठाउनुभएको हो।

पोखरेलको यो प्रतिक्रियासँगै राजनीतिक वृत्तमा प्रधानमन्त्रीको संसद् सम्बोधनलाई लिएर नयाँ बहस सुरु भएको छ। विशेषगरी प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘अपरिपक्व’ र ‘गैरजिम्मेवार’ भन्दै आलोचना गरिरहेको छ। यसबारे सरकार वा प्रधानमन्त्री सचिवालयबाट भने हालसम्म कुनै थप स्पष्टीकरण आएको छैन।