छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव सम्पन्न : ११ विधामा उत्कृष्टलाई अवार्ड वितरण
काठमाडौँ, जेठ २१ । नेपाल आदिवासी जनजाति चलचित्र महासङ्घ सङ्घीय परिषद्को आयोजनामा सम्पन्न ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव-२०८३’ मा विभिन्न ११ विधामा उत्कृष्ट ठहरिएका चलचित्र र चलचित्रकर्मीहरूलाई अवार्ड प्रदान गरिएको छ । चलचित्र विकास बोर्ड र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहकार्यमा काठमाडौँको चाबहिलस्थित विकास बोर्डको सभाहलमा आयोजित तीन दिने महोत्सवको समापन समारोहमा मंगलबार यी पुरस्कारहरू वितरण गरिएको हो ।
महोत्सवमा सार्वजनिक गरिएको नतिजाअनुसार लिम्बू चलचित्र ‘रीत’ ले ‘पब्लिक च्वाइस अवार्ड’ प्राप्त गरेको छ भने गुरुङ चलचित्र ‘ङोल्स्यो रामरानी’ ले ‘उत्कृष्ट चलचित्र’को उपाधि जितेको छ । सोही चलचित्रका लागि विवेक गुरुङले उत्कृष्ट स्क्रिप्ट (लेखन) अवार्ड हात पार्नुभयो ।
त्यसैगरी, विधागत पुरस्कारतर्फ लिम्बू चलचित्र ‘रीत’का लागि दिनेश लिङ्देनले ‘उत्कृष्ट निर्देशक’, मगर चलचित्र ‘दिलसरा’का लागि कल्याण रानामगरले ‘उत्कृष्ट अभिनेता’ र नेवारी चलचित्र ‘स्वयनगु’की अभिनेतृ भिन्तुना श्रेष्ठले ‘उत्कृष्ट अभिनेत्री’को अवार्ड प्राप्त गर्नुभयो ।
अन्य विधामा सम्मानित हुनेहरूमा तामाङ चलचित्र ‘ह्याङ तामाङ’का छायाँकार सूर्य लामा (उत्कृष्ट छायाङ्कन), राजवंशी वृत्तचित्र ‘विराटनगरके प्राचीन राजवंशी’ (जुरी अवार्ड), तामाङ लघु चलचित्र ‘दुखला ग्यम’ (इन्करेजमेन्ट अवार्ड), मगर लघु चलचित्र ‘लाहुरेनी’ (उत्कृष्ट लघु चलचित्र) र मगर वृत्तचित्र ‘आग्रे’ (उत्कृष्ट वृत्तचित्र) रहेका छन् ।
पुरस्कार वितरण समारोहका प्रमुख अतिथि एवं आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका निमित्त प्रमुख राम मादेनले विजेताहरूलाई सम्मान तथा अवार्ड प्रदान गर्नुभएको थियो ।
गत जेठ १७ गतेदेखि सुरु भएको महोत्सवमा लिम्बू, नेवारी, गुरुङ, तामाङ, मगर, भुजेल, माझी र राजवंशी समुदायका कथानक चलचित्र, लघु चलचित्र, वृत्तचित्र तथा एआई (AI) प्रविधिबाट निर्मित वृत्तचित्रहरू प्रदर्शन गरिएका थिए । महोत्सवका क्रममा चलचित्र प्रदर्शनीका साथै सांस्कृतिक झाँकी, विभिन्न जातजातिका खानाका स्टल र सिनेम्याटिक विमर्शका लागि अन्तक्र्रिया कार्यक्रमहरू समेत सञ्चालन गरिएको महोत्सव निर्देशक सागर केरुङले जानकारी दिनुभयो ।
निर्देशक केरुङका अनुसार यो महोत्सव केवल मनोरञ्जनको माध्यम मात्र नभई आदिवासीहरूको भाषा, इतिहास, भूमि र सभ्यताको प्रतिनिधित्व गर्ने एउटा वैचारिक आन्दोलन पनि हो । उहाँले आदिवासी चलचित्रहरूले सांस्कृतिक न्याय र भाषिक पुनर्जागरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
नेपालमा हालसम्म आदिवासी जनजातिका विषयवस्तुमा आधारित करिब १,५०० भन्दा बढी चलचित्र र वृत्तचित्र निर्माण भइसकेको तथ्याङ्क छ । महासङ्घका अनुसार यी चलचित्रहरूले मौलिक सौन्दर्य र सामुदायिक आवाजलाई केन्द्रमा राखी नेपाली सिने क्षेत्रमा छुट्टै पहिचान निर्माण गरेका छन् ।
कार्यक्रमको समापनमा नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष अरुणकुमार प्रधान, नेपाल आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष अमृत सुनुवार, चलचित्र पत्रकार सङ्घका अध्यक्ष समिर बलामी र चलचित्र निर्देशक डब्बु क्षेत्रीले आदिवासी चलचित्रको वर्तमान अवस्था, यसको राष्ट्रिय-अन्तर्राष्ट्रिय महत्त्व र चुनौतीबारे प्रकाश पार्नुभएको थियो ।