मकैको खोस्टाबाट ‘मोहोर’ बनाउँदै तनहुँका महिला
काठमाडौँ, जेठ २१ । केही समयअघिसम्म मकै भित्र्याएपछि खेतबारी वा घरआँगनमा थुप्रिने खोस्टा अधिकांशका लागि काम नलाग्ने ‘फोहर’ मात्र थियो। तर, पछिल्लो समय यही खेर गइरहेको वस्तु सीप र सिर्जनशीलताको माध्यमबाट आम्दानीको बलियो स्रोत बन्न थालेको छ। स्थानीय स्रोतको पहिचान र उपयोग हुन सके कसरी आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्ने उदाहरण तनहुँको दमौलीमा देखिन थालेको छ ।
जनभावना नेवाः खल मिसाः पुच दमौलीको आयोजना र व्यास नगरपालिका ३ वडा कार्यालयको आर्थिक सहयोगमा सुरु भएको ‘मकैको खोस्टाबाट सामग्री निर्माण’ सम्बन्धी तालिमले यतिबेला स्थानीय महिलाहरूमा नयाँ उत्साह र आत्मविश्वास जगाएको छ । मंगलबारदेखि सुरु भएको पाँचदिने तालिममा ४० जना महिलाहरू सहभागी छन्, जो मकैको खोस्टालाई आकर्षक सजावटका सामग्रीमा रूपान्तरण गर्न व्यस्त देखिन्छन् ।
स्थानीय सरकारको प्राथमिकता र सार्वजनिक चासो
सामान्यतया सीपमूलक तालिमहरू सञ्चालन हुने तर त्यसले व्यावसायिकता नपाउने आम गुनासो व्याप्त छ। तर, यसपटक स्थानीय सरकारले तालिमलाई उत्पादन र बजारसँग जोड्ने प्रतिबद्धता जनाएको छ । व्यास–३ का वडाध्यक्ष अनुप रानाका अनुसार यो तालिम केवल समय बिताउने माध्यम मात्र नभई, फोहर व्यवस्थापन र आत्मनिर्भरताको संयुक्त प्रयास हो । “हामीले खेर गइरहेको सामग्रीलाई उपयोग गर्न खोजेका हौँ,” वडाध्यक्ष राना भन्नुहुन्छ, “सीप सिकेपछि त्यसलाई व्यवसायमा बदल्न र उत्पादित सामग्रीको बजारीकरणका लागि वडा कार्यालयले पूर्ण सहयोग गर्नेछ ।”
सिर्जनशीलताले निम्त्याएको अवसर
तालिममा सहभागी महिलाहरूले मकैको खोस्टालाई धोएर, रंगाएर र विभिन्न आकारमा मोडेर फूलदानी, चकटी, गुन्द्री, तथा अन्य आकर्षक सजावटी सामग्री बनाउन सिकिरहेका छन्। महिला उद्यमी संघ गण्डकीकी उपाध्यक्ष निर्मला मल्लका अनुसार सिर्जनशीलता र मिहिनेत जोड्न सके मकैको खोस्टाजस्तो सामान्य वस्तुले पनि राम्रो आम्दानी दिन सक्छ । उहाँ भन्नुहुन्छ, “विश्वभर अहिले प्राकृतिक र दिगो उत्पादनको माग बढ्दो छ। हाम्रो घरआँगनमा पाइने खोस्टालाई हस्तकलामा बदल्न सके महिलाहरूको आर्थिक हैसियत पक्कै माथि उठ्नेछ ।”
आर्थिक रूपान्तरणको आशा
महिलाहरूलाई आर्थिक गतिविधिमा सहभागी नगराई समाजको समग्र विकास सम्भव छैन भन्ने मान्यताका साथ यो कार्यक्रम अघि बढाइएको हो। व्यास नगरपालिकाका पूर्वप्रमुख ताराप्रसाद श्रेष्ठले यस्ता स्थानीय स्रोतमा आधारित सीपलाई आयआर्जनसँग जोड्नुपर्नेमा जोड दिनुभयो । वडासचिव सावित्री आचार्यका अनुसार वडाले समुदायका विभिन्न समूहलाई लक्षित गरी यस्ता स्वरोजगारमूलक कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ ।
महोत्सव र प्रदर्शनीहरूमा यस्ता हस्तकलाका सामग्रीको माग उच्च रहने गरेको प्रशिक्षकद्वय विमल श्रेष्ठ र सुशीला श्रेष्ठ बताउनुहुन्छ। जेठ २३ गतेसम्म चल्ने यो तालिमले केवल ४० जना महिलालाई मात्र दक्ष बनाउने छैन, बरु स्थानीय स्तरमा उपलब्ध ‘शून्य मूल्य’ का सामग्रीलाई कसरी मूल्यवान् बनाउन सकिन्छ भन्ने एउटा ठूलो चेतना समेत फैलाउने अपेक्षा गरिएको छ ।
मकैको खोस्टा उपयोगको यो प्रयासले एकातिर कृषिजन्य अवशेषको उचित व्यवस्थापन गर्नेछ भने अर्कोतिर महिलाहरूलाई घरको चुलोचौकोबाट बाहिर निकालेर उद्यमी बन्ने बाटो देखाएको छ। अबको चुनौती भनेको उत्पादित सामग्रीले उचित मूल्य र बजार पाउने सुनिश्चितता गर्नु नै हो ।