महोत्तरीमा डाँका समूहद्वारा गोली प्रहार गरी लुटपाट, दुई जना घाइते
महोत्तरी, २० जेठ । महोत्तरीको सोनमा गाउँपालिकामा मंगलबार राति डाँका समूहले गोली प्रहार गरी लुटपाट गरेको छ। सोनमा–३ खखनास्थित राम विश्वास यादवको घरमा भएको सो लुटपाटमा परी घरधनीका छोरी र ज्वाइँ घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चलाल गोलेका अनुसार डाँका समूहले चलाएको गोली लागेर यादवका ज्वाइँ ईश्वर यादव र छोरी किरण यादव घाइते भएका हुन्।
मध्यराति घरमा प्रवेश गरेको डाँका समूहले धनमाल लुट्ने क्रममा परिवारका सदस्यले प्रतिकार गर्न खोजेपछि गोली चलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घाइते दुवै जनालाई तत्काल उद्धार गरी उपचारका लागि जनकपुरस्थित जानकी हेल्थ केयरमा भर्ना गरिएको छ।
प्रहरीले घटनाबारे बुधबार बिहान मात्र जानकारी पाएको थियो।
घटनामा संलग्नहरूको पहिचान हुन बाँकी रहेको र उनीहरूको खोजीका लागि जिल्लाबाट विशेष टोली परिचालन गरिएको डीएसपी गोलेले जानकारी दिनुभयो।