चितवन कारागारमा भाइरल ज्वरोको प्रकोप, क्षमताभन्दा बढी कैदीबन्दी हुँदा संक्रमण फैलने जोखिम

चितवन, २२ जेठ । चितवनको भरतपुरस्थित जिल्ला कारागारका ५० जना कैदीबन्दीहरू भाइरल ज्वरोबाट पीडित भएका छन्। कारागार प्रशासनका अनुसार ज्वरोको संक्रमण फैलिने क्रम दैनिक रूपमा थप बढिरहेको छ।

जिल्ला कारागारका प्रमुख रवीन्द्र ढुङ्गानाले दैनिक ५ देखि ७ जना नयाँ कैदीबन्दीहरूमा भाइरल ज्वरोको लक्षण देखिन थालेको जानकारी दिनुभयो। उहाँले संक्रमण तीव्र गतिमा फैलिरहेकाले उपचार र व्यवस्थापनमा विशेष ध्यान दिइएको बताउनुभयो।

भरतपुर कारागारमा हाल क्षमताभन्दा बढी कैदीबन्दीहरू रहेका कारण पनि संक्रमण नियन्त्रणमा चुनौती थपिएको छ। कुल ६०० जना (५० महिला र ५५० पुरुष) क्षमता रहेको यस कारागारमा हाल ७१२ जना कैदीबन्दीहरूलाई राखिएको छ। अत्यधिक भीडभाड र साँघुरो स्थानका कारण सरुवा रोगको संक्रमण छिटो फैलिएको बुझिएको छ।

संक्रमण थप फैलिन नदिन ज्वरोका बिरामीहरूलाई कारागारभित्रै छुट्टै कोठामा राखेर उपचारको प्रबन्ध मिलाइएको छ। बिरामीहरूको प्राथमिक उपचार तथा औषधिको उचित व्यवस्थापनका लागि जिल्ला जनस्वास्थ्य कार्यालय र भरतपुर महानगरपालिकासँग समन्वय गरी औषधिको जोहो गरिएको प्रमुख ढुङ्गानाले जानकारी दिनुभयो।