‘मागेर खाने होइन, गरेर खाने सहर’ बनाउँदै काठमाडौँ महानगर
काठमाडौँ, जेठ २२ । काठमाडौँका सडक पेटी, मठमन्दिरका हाता र आकाशे पुलमुनि हात फैलाएर बसेका दृश्य अब इतिहास बन्ने भएका छन् । देशको राजधानीलाई ‘मगन्तेरहित’ र ‘सभ्य सहर’ बनाउने लक्ष्यका साथ काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थलमा मागेर बस्ने कार्यलाई पूर्णतः निषेध गर्ने कडा नीति अघि सारेको छ ।
महानगरको यो अभियान केवल निषेधमा मात्र सीमित छैन, यसले सडकमा आश्रित असहाय र बेवारिसे नागरिकहरूको ‘मानवोचित व्यवस्थापन’ गर्ने मानवीय पाटोलाई पनि सँगै लिएर हिँडेको छ ।
कसले पाउनेछन् सहयोग, कसलाई हुनेछ निषेध
महानगरपालिकाका प्रवक्ता नविन मानन्धरका अनुसार महानगरले सडकमा रहेका व्यक्तिहरूलाई दुई वर्गमा विभाजन गरेको छ । पहिलो वर्गमा ती व्यक्तिहरू छन् जो वास्तवमै बेसहारा, अशक्त, र अभिभावकविहीन छन् । जसको हेरचाह गर्ने कोही छैन, खानलाई अन्न र बिरामी पर्दा ओखती गर्ने सामर्थ्य छैन, उनीहरूलाई महानगरले मानव सेवा आश्रमसँगको सहकार्यमा गाँस, बास र कपासको ग्यारेन्टी गर्नेछ ।
तर, दोस्रो वर्गमा ‘माग्ने कामलाई नै पेशा’ बनाएका व्यक्तिहरू पर्दछन् । यस्ता ‘व्यावसायिक मगन्ते’ हरूका लागि अब काठमाडौँका सडकमा कुनै स्थान हुने छैन । “हामी मागेर खाने होइन, गरेर खाने सहरको रूपमा काठमाडौँलाई चिनाउन चाहन्छौँ,” प्रवक्ता मानन्धर भन्नुहुन्छ ।
उद्धारदेखि पुनर्मिलनसम्मको यात्रा
महानगरले तथ्याङ्क प्रस्तुत गर्दै सडक आश्रितहरूको व्यवस्थापनमा प्राप्त उपलब्धिहरू पनि सार्वजनिक गरेको छ । २०७४ सालदेखि हालसम्म २ हजार ४२१ जनाको सडकबाट उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ८८३ जनालाई काउन्सिलिङ र प्रयासपछि परिवारमा पुनर्मिलन गराइएको छ, जुन यो अभियानको सबैभन्दा सुखद पक्ष हो ।
हाल तिलगंगा क्षेत्रमा महानगरले ‘स्क्रिनिङ सेन्टर’ सञ्चालन गरेको छ । सडकबाट उद्धार गरिएका व्यक्तिहरूलाई सिधै आश्रम लैजानुअघि यहाँ राखिन्छ । उनीहरूको अवस्था पहिचान गर्ने, स्वास्थ्य परीक्षण गर्ने र आवश्यकता अनुसार पारिवारिक पुनर्मिलन वा सामाजिक पुनःस्थापनाको प्रक्रिया अघि बढाइन्छ । यस कार्यका लागि महानगर प्रहरी र मानव सेवा आश्रमको टोलीले दैनिक तीन शिफ्टमा सहरका गल्ली र चोकहरूमा निगरानी गरिरहेको छ ।
समन्वय र चुनौती
यो अभियानलाई सफल पार्न महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय, प्रहरी र विभिन्न सरोकारवाला निकायबीच विशेष बैठक समेत सम्पन्न भएको छ । बैठकले मानवीय सेवालाई दिगो बनाउन अन्तर-कार्यालय समन्वयलाई थप मजबुत बनाउने निर्णय गरेको छ ।
महानगरको निष्कर्ष छ, सडकमा माग्नेहरूको सङ्ख्या बढ्नुमा केवल माग्नेहरूको मात्र दोष छैन, दिनेहरूको अज्ञानता पनि उत्तिकै जिम्मेवार छ । “विरामी भएको बहाना गर्ने वा पेशेवर रूपमा माग्नेलाई पैसा दिएर हामीले उनीहरूको गलत पेशालाई प्रश्रय दिइरहेका छौँ,” एक अधिकारीले बताए । त्यसैले, महानगरले सम्पदा क्षेत्र र मन्दिर व्यवस्थापन समितिसँग मिलेर ‘दान दिने’ शैलीमा पनि परिवर्तन ल्याउनुपर्नेमा जोड दिएको छ ।
अबको बाटो
काठमाडौँ महानगरपालिकाको यो पहलले सहरको सौन्दर्य मात्र होइन, मानवीय संवेदनासमेत जोगाउन खोजेको देखिन्छ । मठ-मन्दिर, पाटी-पौवा र पर्यटकीय क्षेत्रमा देखिने मगन्तेहरूको भिड हट्दा एकातिर सहर सफा देखिनेछ भने अर्कोतिर साँचो अर्थमा सहयोग चाहिनेले राज्यको संरक्षण पाउनेछन् ।
“एकद्वार प्रणालीबाट यो कामलाई निष्कर्षमा पुर्याइनेछ,” प्रवक्ता मानन्धरको यो भनाइले काठमाडौँ अब छिट्टै नै ‘सडक सहयोगापेक्षी मानवमुक्त सहर’ बन्ने आशा जगाएको छ । काठमाडौँले थालेको यो साहसिक र मानवीय कार्य अन्य स्थानीय तहका लागि पनि एउटा अनुकरणीय पाठ हुन सक्छ ।
प्रवक्ता मानन्धरले वाचन गर्नुभएको प्रेस विज्ञप्तिको पूर्ण पाठ
प्रेस विज्ञप्ति
काठमाडौँलाई सडक सहयोगापेक्षी रहित सहर निर्माण गर्ने अभियान
काठमाडौँ महानगरपालिकालाई ‘मानवतामा आधारित सहर’ बनाउने लक्ष्यसहित काठमाडौँ महानगरपालिकाले साझेदारसँग समन्वय गरेर एकीकृत र एकद्वार प्रणालीमा काम गरिरहेको छ । सामान्य मानवीय जीवन बाँच्न अरुको सहारा खोजिरहेका मानिसहरुको उद्धार र व्यवस्थापन यस कार्यक्रमका मुख्य क्रियाकलाप हुन ।
सडक सहयोगापेक्षी मानवरहित सहर बनाउने संकल्प गरेर महानगरपालिकाले अभिभावकत्व ग्रहण गरेको छ । २०७४ मंसिर १ गते मानव सेवा आश्रमसँग सम्झौता गरेर सडकमा वेसहारा जीवन विताइरहेकाहरुलाई उद्धार गर्ने, अवस्था र आवश्यकता पहिचानका लागि स्क्रीनिङ गर्ने, पारिवारिक पुनर्मिलन तथा सामाजिक पुनःस्थापना गराउने काम भइरहेको छ । विभिन्न कारणले घरबारविहिन भएर सडक किनारा, सार्वजनिक स्थल तथा खुला आकाशमुनि अति कष्टपूर्ण जीवनयापन गर्न बाध्य सडक आश्रित मानवलाई उद्धार, उपचार, पालनपोषण एवं पारिवारिक पुनर्मिलन गराउन र अव्यवस्थित सडक मानवहरुको व्यवस्थापन एवं मानवता प्रवर्धनको विस्तार गर्न तथा प्रभावकारी बनाउन नेपाल प्रहरी, मानव सेवा आश्रमलगायत साझेदारसँग समन्वय गर्ने गरिएको छ । कार्य सञ्चालन गर्न प्रशासन विभाग, सामाजिक विकास विभाग, शिक्षा विभाग, स्वास्थ्य विभाग, सम्पदा तथा पर्यटन विभाग, महानगर प्रहरी बलसहित आन्तरिक संयन्त्र परिचालन गरिएको छ । उद्धार कार्यमा प्रयोग गर्न मानव सेवा आश्रमलाई सवारी साधन उपलब्ध गराएको छ । बिरामीलाई अस्पताल ल्याउन लैजान नेपाल एम्बुलेन्स सेवा १०२ परिचालन गर्ने गरिएको छ ।
मानवता प्रवर्धनका लागि एकीकृत व्यवस्थापनको काम गर्न वहुपक्षीय सम्झौता
२०७६ साल मंसिर २९ गते काठमाडौँको वसन्तपुरमा आयोजना गरिएको महानगर दिवसका अवसरमा काठमाडौँ महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, काठमाडौँ उपत्यका प्रहरी कार्यालय र मानव सेवा आश्रम विच वेसहारा, अशक्त, असहाय, अभिभावक विहिन, सडक आश्रित मानवमुक्त काठमाडौँ घोषणा गर्ने र उक्त घोषणाको कार्यान्वयन गर्ने उद्देश्यले सम्झौता भएको थियो ।
सबै पक्षका दायित्व र जिम्मेवारी तोकेर गरिएको सम्झौता सडकमा माग्ने पेशा अन्त्य गर्नु हो ।
पशुपति क्षेत्रलाई माग्ने मुक्त बनाउने प्रयास
२०७६ असोज २९ गते विश्व सम्पदा क्षेत्र पशुपतिलाई मगन्तेरहित बनाउने अभियानको घोषणा गरेर क्षेत्रगत रुपमा माग्ने पेशालाई दुरुत्साहित गर्न थालियो ।
मानवता प्रवर्धन महाअभियान
मानवता प्रवर्धन महाअभियानका लागि काठमाडौँ महानगरपालिका र मानव सेवा आश्रम बिच २०८२ मंसिर १७ गते पुनः सम्झौता भयो । सडकमा सहयोगको अपेक्षा गरेर बस्ने मानिसहरुलाई मानवोचित बासस्थान र स्याहार गर्न, यसरी संरक्षण गरिएकालाई पारिवारिक पुनःस्थापना गराउने कार्यक्रम सञ्चालन गर्न सम्झौता गरिएको थियो ।
होल्डिङ् सेन्टर
अभियानका रुपमा सडक सेवा अर्थात उद्धार कार्य सञ्चालन हुँदा सहयोगापेक्षीहरुको अवस्था र आवश्यकता पहिचान गर्न आवश्यक पर्ने होल्डिङ सेन्टर सञ्चालन गर्ने गरिएको छ ।
२०८३ वैशाख २० गते महानगरपालिका, पशुपति क्षेत्र विकास कोष, उपत्यका प्रहरी कार्यालय र मानव सेवा आश्रमका बिच सम्झौता गरेर अहिले काठमाडौँको तिलगंगा क्षेत्रमा होल्डिङ् सेन्टर सञ्चालनमा छ । वास्तविक सहयोगापेक्षी पहिचान गर्नु होल्डिङ सेन्टर सञ्चालनको मुख्य उद्देश्य हो ।
पशुपति क्षेत्रबाट उद्धार गरिएका ३६ जनालाई सेवा दिएर यो सेन्टर २०८३ वैशाख २४ गतेबाट प्रारम्भ गरिएको छ । सेवा सुरु भए यता जेठ २१ गतेसम्ममा उद्धार गरिएका ४३ जना महिला र १५९ जना पुरुष गरी २०२ जनालाई यस सेन्टरमा ल्याइएको छ । काठमाडौँ महानगरपालिका भित्र विहान, दिउँसो र वेलुका गरी ३ सिफ्टमा उद्धार सेवा सञ्चालन गर्दा सबैभन्दा धेरै वडा नम्बर ८ बाट २३ जना महिला र ८१ जना पुरुष गरी १०४ जनाको उद्धार गरियो । यस्तै वडा नम्बर १५ बाट ४ जना महिला र २९ जना पुरुष गरी ३३ जनाको उद्धार गरिएको छ ।
उद्धार गरेर होल्डिङ सेन्टरमा ल्याइएकामध्ये ६३ जनाको पारिवारिक पुनर्मिलन, ७१ जनाको सामुदायिक पुनःस्थापना र ४२ जनाको स्वेच्छिक वहिर्गमन भएको छ ।
सम्पन्न कामलाई अङकमा राखेर हेर्दा
२०७४ साल मंसिर १ गतेदेखि २०८३ साल जेठ २१ ग्ते सम्ममा २ हजार ४२१ जनालाई उद्धार गरिएको छ । जसमा १ हजार ५७१ जना पुरुष र ८५० जना महिला हुनुहुन्छ । उमेरगत हिसाबले हेर्दा ५ वर्षसम्मका २ जना बालक र ८ जना बालिका गरी १० जना हुनुहुन्छ । ६ बर्षदेखि १७ वर्षसम्मका ३९ जना बालक र २४ जना बालिका गरी ६३ जना बालबालिका हुनुहुन्छ । १८ देखि ३९ वर्षसम्मका ३८७ जना पुरुष र २६६ महिला गरी ६५३ जना वयस्क हुनुहुन्छ । ४० वर्षदेखि ५९ वर्ष सम्मका ५८३ जना पुरुष र २७१ जना महिला गरी ८५४ जना हुनुहुन्छ । ६० वर्ष माथिका ५६० जना पुरुष, २८१ जना महिला गरी ८४१ जना हुनुहुन्छ ।
उद्धारपछि ३८९ जना महिला र ४९४ जना पुरुष गरी ८८३ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । १८७ जना महिला र ३४७ जना पुरुष गरी ५३४ जनालाई सामाजिक पुनःस्थापना गरिएको छ ।
उद्धारपछि आश्रममा रहेकै बेला १०१ जना महिला र २२२ जना पुरुषको निधन भएको छ । अहिले मानव सेवा आश्रममा २०७ जना पुरुष, १३७ जना महिला गरी ३४४ जना आश्रित हुनुहुन्छ ।
उद्धार गरिएका व्यक्तिहरुका समस्या
उद्धार गरिएकाहरुमा व्यत्तिहरुमा मानसिक तथा शारीरिक स्वास्थ्य समस्या, एक्लै बस्ने बानी, सामाजिक व्यवहारमा कमी जस्ता साझा समस्या भेटिन्छन् । आफ्नो परिचय दिन नसक्नु वा नचाहनु, सरीरमा घाउ खटिरा, चोट हुनु, ननुहाएको, पोषिलो खानेकुरा नपाएको हुनु साझा समस्या हुन् ।
केही व्यक्तिहरु घर परिवार भइकन पनि मादक पदार्थ तथा लागू औषधको प्रयोग गर्ने भएकोले घरबाट निस्किएर सडकमा आउनु भएको देखिएको छ । कतिपय व्यक्तिहरु आय आर्जनका लागि माग्ने कामलाई पेशा बनाएर सडकमा आउने गरेको देखिन्छ ।
अब गरिने काम
सहयोगापेक्षीहरुको व्यवस्थापनमा करिब १ दशक यात्राको अनुभव, सिकाइ, भोगाइ र मनोविज्ञान तथा यस अवधिमा सम्पन्न गरिएका कामको तथ्याङ्कले हामीलाई सडक सहयोगापेक्षी रहित काठमाडौँ बनाउने कामको आधार बनाउन सक्ने भएका छौँ ।
सहयोगापेक्षी व्यवस्थापन कार्य वहुक्षेत्रीय काम हो । यसका लागि एउटा पक्ष, संस्था वा संरचना मात्र बनाएर, यस्ता संरचनाहरुले एक्लो प्रयास गरेर नतिजा दिगो हुन सक्दैन । गरिबी, अशिक्षा, वेरोजगारी, अपाङ्ता हुनुको अवस्था, कुलत, पारिवारिक तथा सामाजिक द्वन्द्व, विभेद, कुरीति जस्ता अनेक कारणले व्यक्ति सहयोगापेक्षी बन्न पुग्छ । यस्तो अवस्था सिर्जना हुने ठाउँमा न्यूनीकरण गर्ने दिशामा महानगरपालिकाका आगामी नीति, योजना, बजेट तथा कार्यक्रम लक्षित हुनेछन् ।
अवको आवश्यकता भनेको सहयोगापेक्षी बन्नु पर्ने अवस्था हुन नदिन व्यक्तिगत, पारिवारिक तथा सामाजिक व्यवस्थापनमा काम गर्नु छ । परिस्थितिवश कसैले अभिभावक विहिन बन्नु पर्ने अवस्था आए, आफ्नो हेरचाह आफैँले गर्न नसक्ने हेरचाह गर्ने आफन्त पनि नहुने अवस्था भए यस्ता व्यक्तिहरुको व्यवस्थापनको दिगो संयन्त्र निर्माण गर्नु पर्नेछ ।
अहिलेसम्म आवश्यकता देखाएर व्यवस्थापन खर्च जोहो गर्नु पर्ने अवस्था छ । अब स्वचालित प्रणालीबाट मानवता प्रवर्धनका काम गर्ने प्रणाली विकास गर्नु पर्नेछ । महानगरपालिकाले यस दिशामा काम गर्नेछ ।
अन्त्यमा,
आफू र आफ्नो व्यक्तिगत अवस्था र भावलाई विर्सेर सडक आश्रित मानवहरुको सेवामा रातदिन खटिने स्वयमसेवकहरुको सेवाप्रति काठमाडौँ महानगरपालिका अनुग्रहित छ । एक दिन, एक रात मात्र नभइ रातौँरात तथा बर्षौँसम्म पनि मानवीय भावले सेवामा लीन हुनु चानचुने कुरै होइन । यस पुण्य काममा समन्वय र सहकार्य गर्ने सरकारी, गैरसरकारी तथा सामुदायिक संघसंस्थाहरुको सहयोग अतुलनीय छ । परिवारका सदस्यलाई हेरचाहलाई सम्हार्न नसकेर वेसहारा बनाउने गरेको समाजका एक पात्र जसले कोही नभएका, केही नभएकाहरुलाई आफ्नो परिवार बनाएर खुशी प्रदान गर्ने अभियान सञ्चालन गर्नुभयो । अर्थात, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीसहित केन्द्रीय पदाधिकारी, प्रदेश तथा जिल्लाका स्वयमसेवकसँगै वागमती प्रदेशका संयोजक कृष्णप्रसाद पौडेल, आनी छोइङ डोल्मा फाउन्डेसका अध्यक्ष आनी छोइङ डोल्मासहित अभियन्ताहरुको त्याग र सेवाप्रति मुक्तकण्ठले प्रशंशा गर्न चाहन्छौँ ।
यो कामको सफलताका आमसञ्चारकर्मीहरुको अहम भूमिका रहने भएकोले यसअघिको सहयोगको निरन्तरता र आगामी दिनमा अझ सशक्त एवं रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
धन्यवाद
…………………………………….
नविन मानन्धर
प्रवक्ता
काठमाडौँ महानगरपालिका