बौद्धकाे गुम्बाभित्रका पुरातात्विक सामग्रीको अभिलेख राखेन विकास समितिले, महालेखाले औँल्यायो सुरक्षा जोखिम

काठमाडौँ, २६ जेठ । बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिले गुम्बाभित्र रहेका पुरातात्विक महत्वका सामग्री र सार्वजनिक सम्पत्तिको व्यवस्थित अभिलेख राख्न नसकेको पाइएको छ। महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनले समितिको यस्तो गम्भीर कमजोरी औँल्याएको हो।

कानुनअनुसार गुम्बाहरूमा रहेका बहुमूल्य मूर्ति, ऐतिहासिक वस्तु र अन्य सार्वजनिक सम्पत्तिको विवरण सङ्कलन गरी अद्यावधिक राख्नुपर्ने भए पनि समितिले त्यसो नगरेको प्रतिवेदनमा उल्लेख छ।

‘समिति (गठन) पहिलो संशोधन आदेश, २०७५’ को दफा ४ मा समितिको काम, कर्तव्य र अधिकार स्पष्ट तोकिएको छ। जसअनुसार:
बौद्ध दर्शनको अनुसन्धान, विकास र प्रवर्द्धनका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने।
गुम्बाभित्रका पुरातात्विक महत्वका सामग्री र सार्वजनिक सम्पत्तिको विवरण सङ्कलन गरी अद्यावधिक अभिलेख राख्ने।
त्यस्ता ऐतिहासिक सामग्रीको सुरक्षाको उचित व्यवस्था मिलाउने।
तर, समितिले यीमध्ये कुनै पनि कार्य सन्तोषजनक रूपमा नगरेको महालेखाले जनाएको छ।

महालेखाको प्रतिवेदनमा गुम्बाभित्रका पुरातात्विक महत्वका मूर्तिलगायतका वस्तुको सुरक्षाका लागि कुनै पनि वैज्ञानिक संयन्त्र निर्माण नभएको उल्लेख छ। यसले गर्दा हाम्रा अमूल्य सम्पदाहरू असुरक्षित हुने र चोरी वा हराउने जोखिम बढेको देखिएको छ।
यसैगरी, समितिले बौद्ध दर्शनका अनुसन्धानका कार्यहरू, तिनको प्रकाशन र प्रसारणको समेत कुनै अद्यावधिक रेकर्ड राखेको छैन।

महालेखाले प्रचलित कानुनको पालना गर्दै ऐतिहासिक र पुरातात्विक सम्पत्तिको अभिलेख सुरक्षित राख्न समितिलाई निर्देशन दिएको छ।
बौद्ध धर्मावलम्बीहरूको आस्थाका केन्द्र मानिने गुम्बाहरूमा रहेका प्राचीन सम्पदाको संरक्षणमा सरकारी निकाय नै उदासीन देखिएपछि सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।