कोशी प्रदेशमा आज भारी वर्षाको सम्भावना, यी ठाउँमा सतर्क रहन आग्रह

काठमाडौँ, ३० जेठ । नेपालमा हाल पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु र पूर्वीय वायुको आंशिक प्रभावका कारण देशभरको मौसममा फेरबदल आएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विशेषगरी कोशी प्रदेशमा भारी वर्षाको सम्भावना देखिएको छ ।

अहिले कोशी प्रदेशका थोरै स्थानहरू तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बदली (बादल लाग्ने) रहनेछ भने तराईका क्षेत्रमा आंशिक बदली हुनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै, अन्य पहाडी र तराई भू–भागका एक–दुई स्थानमा पनि वर्षा र हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा बादल लाग्नेछ । कोशी र मधेस प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ ।

मुख्य गरी कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् । अन्य प्रदेशका तराई भू–भागमा भने रातिको समयमा मौसम मुख्यतया सफा रहनेछ ।